पछिल्ला पाँच वर्षको अपराध तथ्यांक केलाउँदा सात हजार ६१४ बालिका बलात्कार घटनाबाट पीडित भएका छन् । यो कुल घटनाको ६३.७२ प्रतिशत हो । बलात्कारपछि कतिपयको हत्या भएको छ ।
बालबालिकामाथि हुने बलात्कार तथा हिंसाको घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन । पछिल्लो पाँच वर्षमा बालिकामाथि हुने हिंसाका घटनाको ग्राफ घटेको छैन । बालबालिकालाई अभिभावक तथा विद्यालयले ‘गुड टच’ र ‘ब्याड टच’बारे सानै उमेरदेखि बुझाउने तथा उनीहरूलाई सचेत गराउन अझै धेरै जरुरी देखिएको प्रहरी अधिकारी बताउँछन् ।
सांसदहरूले भने क्रूर किसिमका बलात्कारका घटनामा नेपालमा सजाय कमजोर भएकोसमेत बताएका छन् । बलात्कारपछि हत्याको घटनामा हाल आजीवन कारागार बस्नुपर्ने कानुन छ । त्यसका बाबजुद पनि घटना रोकिएका छैनन् ।
बलात्कारपछि हत्या गरिएकी गरिमाको अभिभावकसँग भएको सहमतिमा सरकारले वर्तमान कानुनमा पुनरवलोकनका लागि सुझाव लिन सात सदस्यीय संकल्प समिति गठन गरेको छ ।