- स्थानीय आवश्यकतामा भन्दा भ्यु टावर, मनोरञ्जन स्थलजस्ता अनुत्पादक र चर्चा बढी हुने क्षेत्रमा बजेट खर्च गर्ने प्रवृत्तिले करोडौँ खर्च भएका आयोजना अलपत्र परेका छन्
स्थानीय जनताको आवश्यकतालाई बेवास्ता गर्दै आफू चर्चामा आउने योजनालाई प्राथमिकता दिँदा झापाका स्थानीय तहका करोडौँ लगानी भएका आयोजना अलपत्र परेका छन् । स्थानीय सरकार गठन भएको पहिलो कार्यकालदेखि नै जनप्रतिनिधिले आफ्नो आन्तरिक आम्दानीले धान्नै नसक्ने योजना अघि सारे । स्थानीय आम्दानीले धान्न नसक्ने त्यस्ता आयोजना सम्पन्न गर्न बजेट अभाव भएपछि अहिले त्यस्ता अधिकांश आयोजना अलपत्र बनेका छन् । यसैको एक उदाहरण हो, मेचीनगर नगरपालिकामा सुरु गरेको भ्यु टावर योजना ।
मेचीनगर नगरपालिकाले पनि काँकडभिट्टाको डाँडामा चार करोड ५३ लाखको डिपिआर तयार गरेर भ्यु टावर ठड्याउने योजना अघि सार्यो । ०७८ असारमा नेपाल–भारत सीमानजिक मेचीनगर– ६ स्थित शिवालय मन्दिरपरिसरको डाँडामा भ्यु टावर निर्माणका लागि शिलान्यास पनि भयो । नगरपालिकाको ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानी भ्यु टावर निर्माणका लागि ०७७ मंसिरमै कन्काई इन्टरनेसनल बिल्डर्सलाई तीन करोड २९ लाखमा ठेक्का दिइयो । निर्माण कम्पनीलाई ०७८ मंसिरमै सक्नुपर्ने आयोजनालाई पूर्णता दिन नगरपालिकाले बजेट विनियोजन नै गरेन, जसले गर्दा ३३ मिटर अग्लो भ्यु टावर अलपत्र अवस्थामा छ ।
मेचीनगर नगरपालिकाले ६५ लाख रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी दिइसकेको छ । २० प्रतिशत काम सकिएपछि बजेट अभावमा निर्माण अलपत्र छ । डिपिआरमै त्रुटि भएपछि योजना अघि बढ्न नसकेको र अब तत्काल भ्यु टावर निर्माण अघि बढाउने कुनै योजना नरहेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् । ‘तत्कालीन समयमा सबैतिर भ्यु टावर बनाउने लहर नै थियो । काँकडभिट्टाको त्यो भौगोलिक कारण पनि बनाउन सुरु गर्यौँ । त्यहाँबाट भारतसँगै बंगलादेश र भुटान पनि देखिने भएकाले बनाउन थालेका थियौँ,’ उनले भनिन्, ‘तर, डिपिआरमा त्रुटि देखिएपछि बन्न सकेन । निर्माण कम्पनीको बैंक ग्यारेन्टी पनि जफत भएपछि अब तत्काल यो योजना अघि बढाउने योजना छैन ।’
बाह्रदशीमा सिमसार र भ्यु टावर योजनाको हालत उस्तै

स्थानीय सरकार गठन भएको पहिलो कार्यकालमा आन्तरिक स्रोतको अध्ययन नै नगरी गाउँपालिकाले करोडौँको लागतमा भ्यु टावर र सिमसार क्षेत्र निर्माण गर्ने योजना अघि सार्यो । वार्षिक दुई करोड आन्तरिक आम्दानी भएको बाह्रदशी गाउँपालिकाका यी दुई योजनाको लागत नै करिब ४८ करोड थियो । बाह्रदशी गाउँपालिले आर्थिक वर्ष ०७६/७७ मा साधुपर्ती झिल निर्माणका लागि ३६ करोड ४३ लाखको डिपिआर तयार गर्यो । कुल २८ बिघा क्षेत्रफलमा सिमसारसहित पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना थियो । पाँच करोड स्रोत सुनिश्चितता भएपछि गाउँपालिकाले सुनकोशी–एभरग्रिन जेभीलाई तीन करोड ९६ लाख १६ हजार एक सय ३४ रुपैयाँमा ठेक्का पनि लगायो । जबकि, डिपिआरअनुसार सो रकमले यो पर्यटकीयस्थलको १३ दशमलव ७२ प्रतिशत मात्र काम हुन्थ्यो । तर, गाउँपालिकाले थप स्रोतको सुनिश्चितता नगरी ठेक्का आह्वान गर्यो । यो योजनाको डिपिआर निर्माण गर्न मात्रै गाउँपालिकाले १८ लाख ५९ हजार एक सय ३२ रुपैयाँ खर्च गरेको थियो । ठेक्का लगाएको कामको पनि अहिले ८० प्रतिशत मात्रै काम भएपछि अलपत्र छ । हालसम्म निर्माण कम्पनीलाई दुई करोड ८१ लाख २६ हजार तीन सय आठ रुपैयाँ भुक्तानी भइसकेको छ ।
हालसम्म यो सिमसार क्षेत्रमा क्यान्टिन, सार्वजनिक शौचालय, स्टोन मेसिनरी रिटेनिङ वाल र झिल लेभलिङ गरी सफाइ गर्ने काम सम्पन्न भएको छ । मूल प्रवेशद्वार, मन्दिर, फ्ल्याग स्टोन पाथवे (ढुंगाको पाता छापेको सडक) निर्माणको काम भने अलपत्र रहेको गाउँपालिकाले जनाएको छ । वार्षिक आन्तरिक स्रोत नै करिब दुई करोड मात्र भएको बाह्रदशी गाउँपालिकाले ३६ करोडबराबरको योजना हचुवाका भरमा अघि सार्दा अहिले करिब तीन करोड रुपैयाँ खर्च भएपछि यो योजना अलपत्र भएको छ । यस्तै, बाह्रदशी– ६ को बाह्रदशी डाँडामा बनेको कञ्चन धरहराको हालत पनि उस्तै छ । तराईको पहाड नामले चिनिएको बाह्रदशी डाँडा समुद्री सतहदेखि एक सय ४५ मिटरको उचाइमा छ ।
आन्तरिक आयको स्रोत कम भएको गाउँपालिकाले आन्तरिक स्रोतबाटै १२ करोड ५२ लाख १४ हजारको डिपिआर बनाएको छ । जबकि, भ्यु टावर निर्माण सुरु गर्दा बाह्रदशी गाउँपालिकाको आन्तरिक राजस्व एक करोड ३६ लाख ४६ हजार आठ सय पाँच मात्र थियो ।
३५ दशमलव १० मिटर उचाइको यो ११ तले भ्यु टावरका लागि गाउँपालिकाले हालसम्म तीन करोड ३३ लाख सात सय ९२ रुपैयाँ खर्च गरिसकेको छ । थप निर्माणका लागि आन्तरिक आम्दानीले नपुग्ने भएपछि अहिले भ्यु टावर अलपत्र बनेको छ । ०७६/७७ को गाउँसभाबाट पारित भएपछि यो भ्यु टावर निर्माण ०७७ जेठदेखि सुरु भएको थियो । १२ करोड ५२ लाख १४ हजार ६ सय ९९ रुपैयाँले निर्माण पूरा हुने गरी डिपिआर तयार गरिएको यो भ्यु टावरको काम हालसम्म ३५.७० प्रतिशत मात्र सम्पन्न भएको बाह्रदशी गाउँपालिकाले जनाएको छ ।
०८२/८३ मा भ्यु टावर सञ्चालन गर्न गाउँपालिकाले ५० लाख विनियोजन गरेको थियो । तर, आन्तरिक आम्दानी कम भएको र बजेट अभाव भएपछि खर्च गर्न नसकिएको गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागार्इं बताउँछन् ।