विश्वासको मत फेरि धकेलियो, बागमती प्रदेश सभा बैठक मंगलबारसम्मका लागि स्थगित
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बोलाइएको प्रदेश सभा बैठक अन्ततः बस्न नसकी मंगलबारसम्मका लागि स्थगित भएको छ । दिनभर पटक–पटक बैठकको समय परिवर्तन गरिए पनि दलहरूबिच सहमति जुट्न नसकेपछि बैठक भोलि भदौ ९ गते अपराह्न ४ बजे बस्ने गरी सारिएको हो ।
प्रदेश सभा सचिव रामकुमार पौडेलले सोमबार राति सूचना जारी गर्दै विशेष कारणवश राति ८ बजेका लागि निर्धारण गरिएको बैठक पनि बस्न नसक्ने जनाएका छन्।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक मंगलबार अपराह्न ४ बजे बस्ने गरी पुनः निर्धारण गरेको सूचनामा उल्लेख छ ।
नागढुंगा सुरुङमार्गमा साना निजी सवारीसाधनको आवतजावत सुरु [फाेटाेफिचर]
नागढुंगा सुरुङमार्गमा साना निजी सवारीसाधनलाई प्रवेश खुला गरिएको छ। यसअघि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएकोमा सोमबारदेखि निजी सवारीसाधनका लागि सञ्चालनमा ल्याइएको छ।
सुरुङमार्गमा यो महिनाभर कुनै शुल्क लाग्नेछैन। कर्मचारीलाई दस्तुर उठाउन र सर्वसाधारणलाई ट्राफिक नियम सिकाउनका लागि यो महिना शुक्ल नलिने निर्णय भएको हो।
कर्मचारीहरूका अनुसार अर्को महिनादेखि ठुला सवारीसाधनलाई पनि प्रवेश खुला गरिनेछ।
स्याङ्जामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ जना घाइते
स्याङ्जामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडक खण्डमा गल्याङदेखि साङलियातर्फ जाँदै गरेको ग.१ ज. ६५३४ नम्बरको बलेरो जिप दुर्घटना भएको हो।
उकालो घुम्तीमा अनियन्त्रित भएको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। मृत्यु हुनेहरूमा गल्याङ– ९ का यामबहादुर विक र गल्याङ– ८ की सदीक्षा थापा रहेकी छिन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ उपसचिवको सरुवा गरेको छ। सोमबारको निर्णयअनुसार उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
बागमतीमा विश्वासको मतअगावै राप्रपाका तीन प्रदेश सांसद पदमुक्त
बागमती प्रदेश सभामा विश्वासको मतअगावै राप्रपाका तीन प्रदेश सांसद पदमुक्त भएका छन्। प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ केन्द्रीय अनुशासन समितिको सिफारिसबमोजिम पदमुक्त भएका राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पार्टीको पटक-पटकको निर्देशन अवज्ञा गरेको, ह्विप उल्लंघन गरेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका भन्दै पार्टी केन्द्रले उनीहरूलाई कारबाही गरेको हो।
आलिताल गाउँपालिकाकी बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय, पर्सेरावलकी बालविकास सहजकर्ता मञ्जुदेवी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
बोहराले उत्तर प्रदेश, माध्यमिक शिक्षा परिषद भारतबाट हाई स्कुल परीक्षा पास गरेको भनी मार्कसिट, सर्टिफिकेट र प्रोभिजनल प्रमाणपत्रसहितका नक्कली प्रमाणपत्र पेस गरेर भगवती प्राथमिक विद्यालय (तत्कालीन आधारभूत विद्यालय)मा नियुक्ति लिएको अख्तियारको दाबी छ।
रिटको टुंगो नलाग्दै विश्वासको मत अघि बढाए प्रदेश सभा बहिष्कार गर्ने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिट अदालतमा विचाराधीन रहेकै अवस्थामा विश्वासको मत लिने प्रक्रिया अघि बढाए प्रदेश सभा बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलले अदालतबाट अन्तिम न्यायिक निरूपण वा कम्तीमा अन्तरिम आदेशसम्बन्धी सुनुवाइ नटुंगिँदासम्म विश्वासको मतको प्रक्रिया अघि बढाउन नहुने अडान लिएको हो।
तीनपटक मुख्यमन्त्री बनेका कार्कीलाई चौथोपटक पनि विश्वासको मत
तीनपटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका एमालेका हिक्मतकुमार कार्कीले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको कोशी प्रदेश सभाको नवौँ अधिवेशनको २६औँ बैठकबाट संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेश सभाको नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले चौथोपटक विश्वासको मत लिएका हुन्।
तीन पहिरो पन्छाएर कोदारी सडक अस्थायी रूपमा सञ्चालन
४० दिनपछि कोदारी राजमार्ग अस्थायी रूपमा सञ्चालन भएको छ। ३१ असारबाट बन्द सडकमा तीनवटा ठुला पहिरो पन्छाएर अस्थायी ट्रयाक निर्माण गरिएको हो।
वर्षा कम हुँदै गएपछि सडक डिभिजन कार्यालय चरिकोटले खटाएको ६ एक्स्काभेटर र १२ टिपरले १० दिन लगाएर सडकको नयाँ ट्रयाक निर्माण गरेको हो। डाक्लाङमा भासिएको एक सय मिटर, पहिरोले थिचेको चारकिलोको ५० मिटर र भासिएर सडकको निशाना नै हराएको इको पहिरोको करिब दुई सय मिटर सडकमा सडक डिभिजनले नयाँ अस्थायी ट्रयाक निर्माण गरेको छ।
गरिमा चौधरी हत्या प्रकरण : किशोरको बयान भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका किशोरको बयानकक्षभित्रको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
किशोरसँग बयान लिइरहेको समयमा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो विषय बहसमा आएको छ। भिडियोमा किशोरले घटनाबारे विस्तृत विवरण बताइरहेको देखिन्छ। उक्त भिडियो सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिएको थियो।
नाबालकसँग अनुसन्धानका क्रममा लिइएको बयानको भिडियो बाहिरिएपछि प्रहरीको अनुसन्धान प्रक्रिया, गोपनीयता तथा नाबालकको अधिकारको विषयमा समेत प्रश्न उठेको थियो। संवेदनशील प्रकृतिको घटनामा संलग्न नाबालकको बयान सार्वजनिक भएपछि प्रहरी संगठनभित्रबाटै भिडियो कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको थियो।