बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।

‘होम ट्युसन’ पढाउने क्रममा दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४६ वर्षीय मुरारी तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो। घटना बाहिरिएपछि विद्यालयले उनलाई सेवाबाट बर्खास्त गरेको छ।

तिमिल्सिनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ। बाल यौन दुर्व्यवहार मुद्दामा ६ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अनिल पण्डितले जानकारी दिए।

‘घटना भदौ ३ गतेतिरको रहेछ। हामीले ६ गते नियन्त्रणमा लिएर बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गरिरहेका छौँ,’ उनले भने।

विद्यालयका प्राचार्य भरतबाबु कँडेलले विज्ञप्तिमार्फत घटनामा संलग्न भनिएका शिक्षकलाई विद्यालयबाट तत्काल निष्कासन गरिसकिएको जानकारी दिए। 

‘घटनाको जानकारी पाउनासाथ विद्यालय व्यवस्थापन समिति, प्रशासन तथा आदरणीय अभिभावकहरूसँग घनिभूत छलफल गरी निज शिक्षकलाई विद्यालयको सेवाबाट तत्काल प्रभावले निष्कासन (बर्खास्त) गरिसकिएको छ,’ उनले भने।

सुझावित समाचार