उदयपुरमा अटो र स्कुलबस ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिका– ५, जहडामा अटो र स्कुलबस एक–आपसमा ठोक्किँदा दुजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को.१ख ३५१६ नम्बरको सफल आदर्श इंग्लिस बोर्डिङ स्कुलको बस एक–आपसमा ठोक्किएका थिए।

दुर्घटनामा अटोमा सवार पाँचैजना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा बेलका नगरपालिका– ५ की करिब ३४ वर्षीया मन्दिरा मगर र नाम, थर, उमेर तथा ठेगाना नखुलेकी अर्की एक महिलाको बिहान करिब ११ः४५ बजे मृत्यु भएको डिएसपी बमले जानकारी दिए।

दुर्घटनामा अटोचालक बेलका नगरपालिका– ५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका– १२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको छ भने बेलका– ५ का १८ वर्षीय रोशन मगर गम्भीर घाइते छन्। तीनैजनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न बस र चालक बेलका नगरपालिका– ५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।

सुझावित समाचार