सीमापारि तस्करी गर्ने पाँच महिला लागुऔषधसहित पक्राउ

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

नेपालबाट भारततर्फ अवैध रूपमा भारी परिमाणको लागुऔषध तस्करी गर्न लागिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले पाँचजना महिलालाई पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका– २ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले शंकास्पद रूपमा भारततर्फ जाँदै गरेका महिलाहरूलाई जाँच गर्दा १५ किलोभन्दा बढी चरेस र अफिम बरामद गरेको बताएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको छ। साथै, उनीहरूले प्रयोग गर्दै आएका पाँच थान मोबाइल फोनसमेत प्रहरीले नियन्त्रणमा लिएको बताएको  छ ।

पक्राउ पर्नेहरूमा दाङको राप्ती गाउँपालिका– ३, मसुरियाका ३४ वर्षीया रतिमा रोकाया र ४३ वर्षीया विमला पुन रहेका छन्।  त्यसैगरी, कपिलवस्तुको विजयनगर गाउँपालिका– ४, ज्योतिनगरका ४५ वर्षीया फनिसरा सारू, ५६ वर्षीया नन्सरी घर्तीमगर तथा पर्साको ठोरी गाउँपालिका घर भई हाल विजयनगर– ४, ज्योतिनगर बस्ने चुमा लामिछाने रहेका छन् । 

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायब उपरीक्षक डिएसपी रिपेन्द्रकुमार सिंहले भने, ‘सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार र तस्करी रोक्न प्रहरीले गस्ती तथा निगरानी तीव्र पारेको छ ।’ पक्राउ परेका पाँचजनामाथि लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी गहन अनुसन्धान अघि बढाइएको उनले बताए ।

‘बरामद पदार्थको विस्तृत प्रयोगशाला परीक्षण भइरहेको छ भने यो ठुलो परिमाणको लागुऔषधको पछाडि कुन मुख्य सञ्जाल वा गिरोह सक्रिय छ भन्नेबारे सूक्ष्म ढंगले अनुसन्धान जारी राखेका छौँ,’ सिंहले भने । कपिलवस्तु प्रहरीले सीमा क्षेत्रमा हुने यस्ता अवैध गतिविधि रोक्न चेकजाँचलाई थप कडा बनाइएको जनाएको छ ।

सुझावित समाचार