नेपाल हिमालय सीमापार वाणिज्य संघको अधिवेशन भदौ १९ र २० मा

अध्यक्ष र महासचिवमा तीन र तीन आकांक्षी

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

मित्रराष्ट्र चीनसँगको उत्तरी नाका मुख्यतः तातोपानी र रसुवागढी भएर व्यापार गर्ने व्यवसायीहरूको छाता संगठन नेपाल हिमालय सीमापार वाणिज्य संघको १३ओैँ  अधिवेशन १९ र २० गते काठमाडौंमा हुने भएको छ। भदौ १९ मा उद्घाटन हुने अधिवेशनको बन्दसत्र २० गते बिहान १० देखि ५ बजेसम्म चल्नेछ। नयाँ नेतृत्व चयनका लागि १४ भदौबाट मनोनयन प्रक्रिया सुरु हुने बुद्धनगरस्थित संघको कार्यालयले जानकारी दिएको छ।

अध्यक्ष पदका लागि तीनजना आकांक्षी देखिएका छन्। चीनबाट सामान क्यारिङ गर्दै आएको नमस्ते ट्रान्सपोर्ट कम्पनीका प्रमुख लोप्साङ शेर्पा प्रमुख दाबेदार देखिएका छन्। १२औँ अधिवेशनमा १३ मतको अन्तरले उपविजेतामा चित्त बुझाएका शेर्पा यसपटक जसरी पनि नेतृत्व लिने प्रयत्नमा छन्। त्यसैगरी हालका महासचिव रामचन्द्र पराजुली र प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठले नेतृत्व हत्याउन प्रतिस्पर्धा गर्ने भएका छन्।

महासचिवमा लालबहादुर बस्नेत, भक्त पराजुली  र विष्णु न्यौपाने आकांक्षी रहेको बुझिएको छ। वरिष्ठ सचिवमा फलफूल व्यवसायी  शारदाप्रसाद पराजुलीले दाबी गरेका छन्। पदाधिकारी र कार्यकारिणी सदस्य  पदका लागि ५० भन्दा बढीको उम्मेदवारी पर्ने निश्चित छ।

संघमा ३९ सदस्यीय कार्यसमिति छ। अध्यक्ष, महासचिव, उपाध्यक्ष चार, वरिष्ठ सचिव, सचिव चार, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी १४ जनाको पदाधिकारी समिति छ। २२ कार्यकारिणी सदस्य निर्वाचित र तीन मनोनीत रहने व्यवस्था छ। संघले स्थापनादेखि नै  नेपाल–चीन व्यापारमा सहजीकरण गर्दै व्यापारिक हितका लागि काम गर्दै आएको छ।

सुझावित समाचार