बागमतीमा विश्वासको मतअघि मुख्यमन्त्री थापाको अग्निपरीक्षा : राप्रपाको ह्विप, नेकपाभित्र असन्तुष्टि, बहुमत जुटाउन ‘फ्लोर क्रस’को भर

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। तर, सरकार गठन गरेको चार दिनमै उनी संवैधानिक औपचारिकताभन्दा पनि जटिल राजनीतिक अंकगणितको परीक्षामा उत्रिन लागेका छन्। सत्तासाझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेपछि र नेकपाभित्र पनि आन्तरिक असन्तुष्टि चुलिँदा विश्वासको मतको परिणामलाई लिएर चासो बढेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि छलफलपछि मत विभाजन हुनेछ । भदौ ३ गते एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकार गठनको दाबी गरेका थापा भदौ ४ गते प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानअनुसार नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकाले उनले कार्यभार सम्हालेको चौथो दिनमै विश्वासको मत लिन लागेका हुन्।

अंकगणित सहज देखिए पनि राजनीति जटिल
मुख्यमन्त्री नियुक्त हुँदा एमाले, नेकपा र राप्रपाका गरी ६३ सांसदको समर्थन रहेको दाबी गरिएको थियो। तर, विश्वासको मतको दिनसम्म आइपुग्दा त्यो अंकगणित जटिल बनेको छ । १०४ सदस्यीय प्रदेश सभामा सरकार टिकाउन कम्तीमा ५३ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २५ सांसद भए पनि सभामुख पद रिक्त रहेकाले बैठकको अध्यक्षता उपसभामुखले गर्नेछिन् । संविधानअनुसार अध्यक्षता गर्ने व्यक्तिले मतदान गर्न नपाउने भएकाले एमालेको प्रभावकारी मत २४ मात्रै रहनेछ।

सत्तासाझेदार नेकपाका २६ सांसद छन् । तर, मन्त्री चयन, शक्ति बाँडफाँट र सरकार गठनको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आइतबार बोलाइएको नेकपाको संसदीय दलको बैठकमा आधा सांसद मात्रै उपस्थित भएका थिए । यद्यपि, दलले अन्ततः मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । यदि एमालेका २४ र नेकपाका २६ सांसदले ह्विपअनुसार मतदान गरे भने मुख्यमन्त्रीको पक्षमा ५० मत पुग्नेछ । बहुमतका लागि अझै तीन मत आवश्यक पर्ने भएकाले राप्रपाको भूमिका निर्णायक बनेको छ।

राप्रपाको ह्विपले बढायो दबाब
मुख्यमन्त्रीका लागि सबैभन्दा ठुलो चुनौती राप्रपाको निर्णय बनेको छ। राप्रपाले आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न, तटस्थ बस्न वा अनुपस्थित रहन निर्देशन दिँदै ह्विप जारी गरेको छ । यद्यपि, व्यवहारमा भने राप्रपाका तीन सांसद अहिले पनि बागमती प्रदेश सरकारमा मन्त्री छन्। संसदीय दलका नेता उद्धव थापासहित केही सांसद मुख्यमन्त्रीको पक्षमा उभिने संकेत देखिएको छ । यही कारण राप्रपाभित्र औपचारिक निर्णय र व्यावहारिक अवस्थाबिच विरोधाभास देखिएको छ ।

राप्रपाका सांसद भुवन पाठकले पार्टीको ह्विप उल्लंघन गर्नेलाई अनुशासनको कारबाही हुने चेतावनी दिएका छन् । तर, राजनीतिक वृत्तमा केही सांसदले पार्टीको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई मत दिन सक्ने चर्चा तीव्र छ। एमाले सांसद केशवप्रसाद पोखरेलले राप्रपाका मन्त्रीहरू र संसदीय दलका नेतासहित कम्तीमा सात सांसदले विश्वासको मत दिने दाबी गरेका छन्। उनको दाबीअनुसार राप्रपाबाट चारदेखि सात मत आए मुख्यमन्त्रीले ५४ देखि ५७ मतसम्म प्राप्त गर्न सक्छन्।

प्रदेश सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले यसअघि नै आफ्ना ३६ सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । त्यस्तै, तीन सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले पनि सरकारको पक्षमा मतदान नगर्ने संकेत दिएका छन् । यसले विपक्षी दलहरू मुख्यमन्त्रीविरुद्ध एकजुट देखिएका छन्।

नेकपाभित्र असन्तुष्टि अझै कायम
विश्वासको मतअघि नेकपाभित्र देखिएको असन्तुष्टि पनि पूर्ण रूपमा समाधान भएको छैन । मन्त्री छनोट, शक्ति बाँडफाँट तथा तत्कालीन एकीकृत समाजवादी समूहको प्रतिनिधित्वका विषयमा केही सांसद असन्तुष्ट छन् । यद्यपि, संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पार्टीभित्र कुनै विवाद नरहेको दाबी गर्दै सबै सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने बताएका छन्।

मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरे सरकार संवैधानिक रूपमा स्थायित्वको पहिलो खुड्किलो पार गर्नेछ। तर, सरकार गठन भएको केही दिनमै सत्ता साझेदार दलभित्र देखिएको असन्तुष्टि र राप्रपाभित्रको विवादले आगामी दिनमा सरकार सञ्चालन सहज नहुने संकेत गरेको छ।

 

सुझावित समाचार