एनआरएनए र चेम्बरबिच आर्थिक सहकार्य

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउन नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)बिच सहकार्य भएको छ । नेपाल चेम्बरको सचिवालयमा आइतबार भएको समझदारीपत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र चेम्बरका अध्यक्ष कमलेश अग्रवालले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडिआई) भित्र्याउन सहजीकरण गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासमा सहकार्य गर्ने तथा स्वदेशी र गैरआवासीय नेपाली व्यवसायीबिच सहकार्य र सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री नीति–निर्माणका लागि संयुक्त रूपमा पैरवी गर्ने विषय पनि समझदारीमा समेटिएको छ ।

पाँच वर्षका लागि भएको समझदारीअन्तर्गत एनसिसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–सो, व्यापारिक शिखर सम्मेलन तथा व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन् । त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबिच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिने जानकारी गराइएको छ । त्यस्तै, निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्नुका साथै दुवै पक्षले आफ्नो अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्नेसमेत सहकार्य भएको छ ।

एनआरएनएका अध्यक्ष शर्माले विश्वभर छरिएर रहेका नेपालीको सिप, ज्ञान, अनुभव र पुँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए । उनले एनआरएनए केवल विदेशमा बस्ने नेपालीको संस्था मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पु¥याउने साझा मञ्चका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न चाहँदा अझै पनि विभिन्न कानुनी, प्रशासनिक तथा प्रक्रियागत जटिलता सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । 

नेपाल चेम्बरका अध्यक्ष अग्रवालले नेपाललाई आर्थिक समृद्धिको स्पष्ट गन्तव्यतर्फ अघि बढाउन स्वदेशी तथा गैरआवासीय नेपालीको पुँजी, ज्ञान, सिप र विश्वव्यापी सञ्जाललाई एकीकृत गर्नुपर्ने बताए । ‘जहाँ नेपाली, त्यहाँ नेपालसँग आर्थिक सम्बन्ध’ भन्ने भावनाका साथ विश्वभर नेपाली उत्पादन, सेवा, पर्यटन तथा लगानीका अवसर प्रवर्द्धन गर्नुपर्ने उनको धारणा थियो । नेपाल चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण निर्माण गर्न सरकारले कानुनी तथा प्रक्रियागत जटिलता हटाउनुपर्ने बताए । 

सुझावित समाचार