लाखेजात्राको अवसरमा खाँदबारीमा विशेष सांगीतिक कार्यक्रम हुने

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा लाखेजात्राको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । खाँदबारी युथ क्लबको आयोजनामा भदौ १४ गते टुँडिखेलमा कार्यक्रम हुन लागेको हो ।

‘लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना, युवा सहभागिता’ भन्ने नारासहित लाखेजात्रा, गाईजात्रा तथा हिलेजात्राको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सुरेन शाक्यले जानकारी दिए ।

उनका अनुसार खाँदबारी नगरपालिका– १ स्थित टुँडिखेलमा दिउँसो ३ बजेदेखि राति १० बजेसम्म राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । कार्यक्रममा द एक्स ब्यान्ड, गायक अशोक मुकारुङलगायत चर्चित कलाकारले प्रस्तुति दिनेछन् ।

मौलिक कला, संस्कृति, परम्परा तथा नेवारी समुदायको सांस्कृतिक पहिचानको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सांगीतिक प्रस्तुतिसँगै लाखेनाच, स्थानीय तथा जातीय मौलिक परिकारका स्टल, अग्रज लाखे सम्मान, उत्कृष्ट प्रहसन सम्मान तथा विभिन्न जातीय मौलिक नृत्यसमेत प्रस्तुत गरिने कार्यक्रम संयोजक दीपकिरण शाक्यले बताए ।

कार्यक्रमका लागि करिब १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । संखुवासभासहित भोजपुर, धनकुटा, तेह्रथुम र सुनसरीलगायत जिल्लाबाट करिब पाँच हजारभन्दा बढी दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ ।

सुझावित समाचार