भूकम्प गएको लामो समयपछि जाजरकोटमा भूकम्पप्रभावित नागरिकका निजी आवास पुनर्निर्माणको काम सुरु भएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार काठमाडौंको आयोजनामा पुनर्निर्माण कार्यक्रमअन्तर्गत आइतबार भेरी नगरपालिका– १, रावतगाउँबाट आवास पुनर्निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको हो।
भूकम्पबाट घर क्षति भएर लामो समयदेखि पुनर्निर्माणको पर्खाइमा रहेका नागरिकलाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाइएको हो। भेरी नगरपालिका– १ का स्वर्गीय विपन विकको घरको शिलान्यास गर्दै पुनर्निर्माण कार्यको शुभारम्भ गरिएको थियो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढा, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनारको उपस्थिति थियो।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले लामो समयदेखि पुनर्निर्माणको पर्खाइमा रहेका भूकम्प प्रभावित नागरिकका घर निर्माण सुरु हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। प्रभावित नागरिकले सुरक्षित आवास पाउने गरी पुनर्निर्माणको कामलाई तीव्रता दिन आवश्यक रहेको उनको भनाइ छ।
प्राधिकरणका उपसचिव सुरेश सुनारका अनुसार भेरी नगरपालिका– १ का १६८ जना लाभग्राहीले घर पुनर्निर्माणका लागि सम्झौता गरिसकेका छन्। सम्झौता भएका लाभग्राहीका घर निर्माणको काम तत्काल अघि बढाइने र क्रमशः जिल्लाका सबै प्रभावित वडामा पुनर्निर्माण विस्तार गरिने उनले बताए।
सुनारका अनुसार पुनर्निर्माणका लागि आवश्यक प्राविधिक तथा अन्य जनशक्ति प्राधिकरणले जिल्लामा परिचालन गरिसकेको छ। घरमा अभिभावक नभएका तथा विशेष अवस्थाका लाभग्राहीको आवास शून्य लागतमा निर्माण गर्ने व्यवस्था गरिएको उनले बताए। प्रभावित नागरिकलाई आर्थिक भार नपर्ने गरी पुनर्निर्माण अघि बढाइने उनको भनाइ छ।
प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले भूकम्प गएको लामो समयसम्म पनि प्रभावित नागरिक पुनर्निर्माणको पर्खाइमा बस्नुपरेको भन्दै अब आवास उनले पुनर्निर्माणले गति लिनुपर्ने बताए। प्रभावितका घरसँगै विद्यालय, स्वास्थ्य संस्था तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणलाई समेत प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकाका भूकम्प प्रभावित नागरिकका लागि पुनर्निर्माणको काम सुरु हुनु खुसीको विषय भएको बताए। स्थानीय तहले पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गर्ने भन्दै सबै लाभग्राहीले समयमै घर निर्माणको काम अघि बढाउनुपर्ने उनको भनाइ छ।
जाजरकोटमा ०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट ठुलो जनधनको क्षति भएको थियो। भूकम्पबाट क्षतिग्रस्त निजी आवास लामो समयसम्म पुनर्निर्माण हुन नसक्दा प्रभावित नागरिक अस्थायी टहरा तथा जोखिमयुक्त संरचनामा बस्दै आएका छन्।
आवास पुनर्निर्माण कार्यक्रम सुरु भएपछि प्रभावित नागरिकमा स्थायी आवास बन्ने आशा जागेको छ। प्राधिकरणले जिल्लाका प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरी लाभग्राहीसँग सम्झौता गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने र क्रमशः घर निर्माण अघि बढाउने जनाएको छ।