सप्तरीको शम्भुनाथ नगरपालिका– ३, ट्राफिक चोकमा दुई वर्षीया बालिका मृत अवस्थामा फेलापरेकी छन्।
मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुसी खातुन शनिबार घरनजिकैको झाडीमा मृत फेलापरेकी हुन्।
सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमराज घिमिरेका अनुसार खुसी शनिबार बिहान करिब ९ बजेदेखि घरबाट बेपत्ता भएकी थिइन्। बालिका हराएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा बालिकाको शव घरको पछाडिपट्टि रहेको झाडीमा फेलापारेका हुन्।
बालिकाको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको डिएसपी घिमिरेले जानकारी दिए।