नेपाल–भारत सीमा व्यवस्थापनलाई थप प्रभावकारी र सुरक्षित बनाउन दुवै देशले सीमा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउने सहमति गरेका छन् । नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (जेडब्लुजी)को १४औँ बैठकमा सीमा क्षेत्रका संवेदनशील स्थानमा सिसिटिभीलगायत अत्याधुनिक उपकरण जडान गरी निगरानी र सुरक्षा व्यवस्था सुदृढ गर्ने सहमति भएको हो ।
भारतको उत्तराखण्डस्थित देहरादुनमा बुधबार र शुक्रबार भएको बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, अवैध आवतजावत तथा लागुऔषध, मानव बेचबिखन, नक्कली नोट, हतियार र अन्य गैरकानुनी गतिविधि नियन्त्रणका विषयमा विस्तृत छलफल भएको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र भारतीय पक्षको नेतृत्व गृह मन्त्रालयकी सहसचिव पौसुमी वासुले गरेका थिए । बैठकमा दुवै देशका परराष्ट्र मन्त्रालय तथा दुवै देशमा रहेका एक–अर्को देशका राजदूतावासका अधिकारी सहभागी थिए । दुई देशबिच सीमा सुरक्षा तथा सीमापार अपराधबारे यो संयन्त्रमा छलफल हुँदै आएको छ ।
बैठकपछि गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुवै पक्षले सीमा क्षेत्रमा हुने अपराध तथा सुरक्षा चुनौती नियन्त्रणका लागि सम्बन्धित निकायबिच प्रभावकारी समन्वय र तत्काल सूचना आदानप्रदानको संयन्त्रलाई थप सुदृढ बनाउने सहमति गरेका छन् । विशेषगरी साइबर अपराध तथा सीमापार डिजिटल ठगी बढ्दै गएको विषयलाई नेपाली पक्षले प्राथमिकताका साथ उठाएको थियो । बैठकमा दशगजा क्षेत्रमा हुने अतिक्रमण र अनधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन, सीमा पूर्वाधारको उपयोग तथा मर्मतसम्भार, पारस्परिक कानुनी सहायता र सीमास्तम्भको संरक्षणलगायत विषयमा समेत छलफल भएको थियो ।
त्यसैगरी, दुवै देशका नागरिकको सीमापार आवागमन सहज बनाउने, नेपाल–भारत सीमानाका हुँदै तेस्रो मुलुकका नागरिकको आवागमनलाई व्यवस्थित तथा निगरानी गर्ने र विपत् व्यवस्थापनमा सहकार्य बढाउने सहमति भएको छ । नेपालका जिल्ला अधिकारी र भारतका डिस्ट्रिक्ट मजिस्ट्रेटबिच हुँदै आएको जिल्ला तहको समन्वय बैठकलाई समेत थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । कार्यसमूहको १३औँ बैठक अघिल्लो वर्ष पोखरामा भएको थियो । कार्य समूहको अर्को बैठक आगामी वर्ष नेपालमा आयोजना गर्ने सहमति भएको छ । बैठकमा दुवै पक्षले सीमा व्यवस्थापन तथा सुरक्षासम्बन्धी द्विपक्षीय सहकार्यका क्षेत्रमा भएका प्रगतिहरूको समीक्षा गर्दै आगामी दिनमा समन्वय र सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन् ।