जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । शनिबार चितवन राइनोजले आगामी सिजनका लागि राजालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनाएको हो ।
अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटको लामो अनुभव बोकेका राजा ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने क्षमताका कारण परिचित छन् । जिम्बाब्वेको राष्ट्रिय टोलीबाट उच्चस्तरीय क्रिकेट खेल्दै आएका राजाले विश्वका विभिन्न प्रमुख टी–२० फ्रेन्चाइज प्रतियोगितामा समेत आफ्नो प्रभाव छाडिसकेका छन् ।
उनको अनुभव र अलराउन्ड क्षमताले एनपिएलमा चितवनको टोलीलाई थप बलियो बनाउने चितवनले अपेक्षा गरेको छ । कुशल मल्ल मार्की रहेको चितवनले यसपटक अघिल्लो दुई संस्करण खेलेका बलर सोहेल तनवीरलाई प्रशिक्षक बनाएको छ ।