एउटा नियतिमा बन्दी मानिसको कथा प्रतिनिधित्व गर्छन् ग्रेगर । प्रसिद्ध लेखक फ्रान्ज काफ्काको लघु उपन्यास ‘द मेटामोर्फोसिस’का मुख्य नायक । एउटा कालजयी र अस्तित्ववादी रचना । अनौठो र काल्पनिक घटना, तर सुविधा खोज्दै भौँतारिरहेको आधुनिक मानव समाजमा मानिसले प्रतिपल भोगिरहने एक्लोपन, अमानवीय कार्य–संस्कृति र सामाजिक बेवास्तालाई गहिरोसँग उजागर गर्छ । मेटामोर्फोसिस अर्थात् कायान्तरण नामक यो कृति नपढेका पाठकहरूलाई यसको बोध हुन नसक्ला । तर, हामी जे छौँ, प्रतिपल जुन अवस्थामा हामीले आफूलाई पाउँछौँ, सबै कुरा बोध छ र पनि परिस्थितिबाट उम्किन नसकेको निरूपाय र असहाय अवस्थामा जकडिएका हुन्छौँ । अनि हाम्रो असल या खराब समयमा समाजले जसरी प्रतिक्रिया व्यक्त गर्छ त्यही मनोदशा छ पात्र ग्रेगरको ।
यहाँ कृतिको समीक्षा गर्न खोजिएको छैन । आउनुस् मूल विषयमा प्रवेश गरौं ।
अब एउटा प्रश्न गरौँ, तपाईँ जहाँ हुनुहुन्छ, जे गरेर समय व्यतीत गरिरहनु भएको छ, जे गर्न चाहनुहुन्थ्यो र जे गर्दै हुनुहुन्छ, त्यो परिवेशले कतै न कतै तपार्ईँका सपना, सपनाको इच्छा, तपार्ईँको मनोदशाले पूर्ण रूपमा बन्दी बनाएको लाग्दैन ? बिहान उठेदेखि राति सुत्नेवेलासम्म तपार्ईँभित्र जन्मिने मनोदशाहरूमा तपाईँले आफूलाई कतै न कतै समयको, परिस्थितिको बन्दी बनेको पाउनुहुन्न ? अझ कतिपय यस्ता विषयवस्तुहरूले तपाईँको मनोदशा हल्लाउँछ जुन कुरासँग हाम्रो त्यान्द्रोसम्म पनि सम्बन्धित हुँदैनन् । अनि ? तपाईँले के सोच्नुहुन्छ । पैसा भए पनि या नभए पनि । जागिर भए पनि नभए पनि । साथी भए पनि या नभए पनि । घरसम्पत्ति भए पनि या नभए पनि । मनको अस्वीकृतिमा पनि परिस्थितिसँग सम्झौता गर्नैपर्ने अवस्थामा बाँच्नैपर्ने यथार्थसँग ठोक्किनुबाहेक अरू नियति नभएको लाग्दैन ?
कतिपयलाई आर्थिक परिस्थितिले यो असहायता फरक हुन्छ भन्ने सोच्नुहुन्छ होला । तर, हाम्रो आर्थिक अवस्थितिले मनोविज्ञानको यो उल्झन या मानसिक असहायताको अवस्थालाई उल्ट्याउन सक्दैन । दक्षिण भारतको ‘हाइ अन्ना’ भन्ने सिनेमामा एउटा दृश्य छ । गरिब युवासँग प्रेममा रहेको थाहा पाएपछि आमाले आपत्ति जनाउँछिन्,‘केटाले कसरी तिमीलाई खुसी राख्न सक्ला, कसरी तिमीहरूको वैवाहिक जीवन राम्रो हुन सक्ला ?’ अनि छोरीले जवाफ फर्काउँछिन्,‘यदि पैसाले नै सबै थोक निर्धारण गर्ने भए त तपाईँ र बाबाको डिभोर्स नहुनुपर्ने होइन र ?’ आमाको उत्तर हुन्छ,‘डिभोर्स भए पनि, रातदिन रुनुपरे पनि म बंगलाभित्रको आलिसान रुममा आँसु बगाउँछु । तिम्रो त्यस्तो भए तिमी सडकमा आँसु बगाउनुपर्छ, यही हो फरक ।’ अनि छोरीले भन्छिन्, ‘बंगलाभित्र बगे पनि या सडकमा बगे पनि आखिर आँसु त आँसु होइन र ? कि धनसम्पत्तिले आँसुको स्वरूप पनि फेर्छ । मन दुख्नु ठुलो कुरा होइन र ?’
त्यसैले मनको अवस्थाको कुरा गर्दा मन र परिस्थितिको द्वन्द्वले मन र परस्थितिका साङ्लाहरूले स्वतन्त्र स्नायुहरूलाई कैदी बनाउँदा उत्पन्न हुने मनस्थितिमा फरक हुन्न । यो मनस्थिति धनी होस् या गरिब होस्, सबैका हकमा लागू हुन्छ ।
कतिपय अवस्थामा हामी निरूपाय हुन्छौँ । मन भन्छ– यो ठिक भइरहेको छैन, तर हामी प्रकटमा त्यसलाई मानिरहेका हुन्छौँ । मनले समर्थन गर्न मान्दैन, तर हामी पक्षमा तर्क दिइरहेका हुन्छौँ । तर्क दिइरहँदासमेत मनभित्रको उकुसमुकसको राम्रैसँग अनुभूति हुन्छ हामीलाई । कतिपय अवस्थामा ग्रेगरको जस्तै हामी बाध्यताको चक्रमा यसरी पिल्सिन्छौँ, किन हामीले चाहे पनि हामीसँग उपाय केही हुँदैन । बाह्य संसारको प्रतिक्रियाले हामीलाई पोल्छ, तर हामी प्रतिरोध गर्न सक्दैनौँ । हामी सबै देखिरहन्छौँ, नांगो सत्य हाम्रासामु हुन्छ, तर मनका विरुद्ध उभिने हाम्रो आँट हुन्न । अनि हाम्रो यही निरूपाय अवस्थामा हामी झनै छटपटिन्छौँ, तर हामी आफ्नो मनोदशा पोख्न पनि सक्दैनौँ । यो नै अहिलेको समयको त्रासदी हो ।
केही उदाहरणमा जाउँ, काठमाडौंमा सरकारले सुकुमवासी बस्तीमा बन्दुकका नाल तेर्स्यायो । एक महिनाअघि बुढीऔँलामा कालो मसी लगाएर सरकारमा पठाएको सरकारले त्यसो गर्ला भन्ने कल्पना पनि नगरेका सुकुमवासीहरू असहाय भए । उनीहरूले चुनावी सभाहरूमा विजेता उम्मेदवारहरूको भाषण सम्झिए । साँझपख बस्तीको भेलामा तिनै माननीयहरूका आसलाग्दा वाणी र वचन सम्झिए । अनि उनीहरूले फोन घुमाए । सुकुमवासीको मतले जितेका माननीयका लागि यही मनोद्वन्द्वले थिच्यो– जे हुँदै छ गलत छ, तर बोल्ने ठाउँ छैन । मन सुकुमवासीसँग छ, तर आफ्नो अस्तित्व सरकारसँग जोडिएको छ । फेरि त्यही अस्तित्व सुकुमवासीको सपनामा ठडिएको छ । एउटा असहाय अवस्था, एउटा निरिह क्षण । जे हुँदै छ गलत भइरहेको छ, तर बोल्न सकिन्न ।
यो निरीहता नै अहिलेको समयको धारा हो । मानिस व्यक्तिगत मामिलामा यति अल्झिसकेको छ कि उसले हरेक कुरामा सम्झौताबाहेक कुनै नेमप्लेट देख्न सकिरहेको छैन । जबकि मनले सम्झौता अस्वीकार गरेको छ । कम्युनिस्ट नेताहरूको राजसी ठाँट र वैभवशाली विलासी जीवनलाई जेलनेल भोगेको अनि परिवारका सदस्य गुमाएको सदस्यले पचाउँदैन । ‘क्रान्ति केका लागि ?’ भन्ने प्रश्न हथौडाको प्रहारझैँ उसको मस्तिष्कमा बारम्बार ठोक्किन्छ । तर, प्रकटमा त्यो व्यक्त गर्न सक्दैन, बरु पार्टीभित्रको पोजिसन पाउनका लागि या कतै उम्मेदवार या नियुक्तिका लागि त्यही विलासी जीवनको भोग गरिरहेको नेताका अगाडि झुक्न बाध्य हुन्छ । मन र मस्तिष्कको द्वन्द्वमा उसले आफ्नो अस्तित्व बिर्सिनैपर्छ ।
‘उपभोग नै सबै थोक हो’ भन्ने संस्कृति यति बलशाली बनेको छ कि यही उपभोक्तावादका मानक भेट्ने चक्करमा यहाँ हरेक मन असहाय बनेका छन् । स्कुलमा पढाउने शिक्षकलाई उसकै दैनिक रुटिन चित्त बुझेको छैन तर त्यहाँबाट विद्रोह गर्ने आँट उसले गर्न सक्दैन । मिडियामा काम गर्ने एकजना निर्भीक पत्रकारलाई सम्पादकले साहुहरूको स्वार्थमा उसको स्टोरी सेल्फ सेन्सरसिप गरेको चित्त बुझ्दैन, तर उसले जागिर छोड्न सक्दैन । एकजना नर्सले अस्पतालमा श्वास र लासको व्यापार भएको पचाउन सक्दिनन्, तर उनले राजीनामा दिन सक्दिनन् । एकजना कर्मचारीले आफूले दिएको आइडियालाई उपल्लो कर्मचारीले आफ्नो भनेर बढुवा खाएको देख्दा मन कुँडाउँछ, तर प्रकटमा उसले ‘हजुर सर’ भन्न छोड्न सक्दैन । सत्तारूढ दलका सांसदहरू सरकारका गलत कामको आलोचना गर्न सक्दैनन्, प्रतिपक्षी सांसदहरू सरकारका असल कामको समर्थन गर्न सक्दैनन् । एकजना कार्यकर्ताले वर्षौंँ योगदान गर्दासमेत अवसर पाउँदैन, तर नेतृत्वको जयगान गाउन छोड्दैन । सत्ताबाहिर छँदा दलितका पक्षमा नेल भिरेर आन्दोलन गर्ने सांसद ‘कोठा खाली छ ?’ भनेर अनशन बसेकी एकजना दलित महिलालाई महिना दिनसम्म पनि भेट्ने साहस गर्न सक्दैन । कतिसम्म भने देशकै सीमाको प्रश्न उसको अगाडि तेर्सिँदासमेत सांसदहरूको जन्मैदेखिको राष्ट्रवाद ‘इरेक्टाइल डिस्फंक्सन’को अवस्थामा पुग्छ, स्वाभिमान स्खलन हुन पुग्छ । गलत भन्ने जान्दाजान्दै पनि उसले प्रतिरक्षा गर्छ । यो नै अहिलेको समयको सबैभन्दा ठुलो संकट हो ।
यस्तो लाग्छ, मानौँ, हामी आफू भएर बाँच्न असमर्थ छौँ । हामी, हामी छैनौँ । हाम्रो अस्तित्व हामीले निर्धारण गर्न सकिरहेका छैनौँ । परिस्थितिको कठपुतलीजस्तै हामीलाई कसै अरूले नै नचाइरहेछ । हामी नाच्न बाध्य छौँ किनभने हामी न विद्रोह गर्न सक्छौँ न त मनबाटै स्वीकार गर्न सक्छौँ । मात्र एउटा मौन समर्पण । अनि यो समपर्णले पलपल मन भत्काइरहन्छ । तर, हामी त्यो भत्केको मन पनि प्रदर्शन गर्न सक्दैनौँ । हामी पलपल टुटिरहेका हुन्छौँ, तर प्रकटमा भने भत्किएका संवेदना र भावनाहरूका अगाडि नक्कली पर्दा लगाएर बलियो भएको भ्रमानुभूतिमा बाँचिरहेका हुन्छौँ । हामीले आफ्ना निर्णय आफैँ गरिरहेका छौँ भन्ने भ्रममा बाँचेका छौँ, वास्तवमा धेरै निर्णय हाम्रो ठाउँमा परिस्थिति, संरचना र डरले गरिदिएका छन् ।
त्यसो त कतिपयले भने यो निरूपाय अवस्थाबाट आफूलाई मुक्त गर्ने प्रयास नगरेका होइनन् । सम्झौताभन्दा स्वतन्त्रता, समर्पणभन्दा विद्रोहको बाटो रोज्नेहरू पनि नभएका होइनन् । मूलधारको प्रभावशाली मिडियाका शक्तिशाली सम्पादक यही असहाय अवस्थाबाट वाक्कदिक्क भएर गाईपालनमा लागेका उदाहरण हाम्रासामु नभएका होइनन् । समकालीन अर्थतन्त्रका ज्ञाता चाकरी र अन्धभक्तताको प्रवृत्ति परित्याग गर्दै गाउँमा गएर धानखेती गरिरहेको पनि नदेखिएको होइन । सम्झौता र त्वं शरणम् गर्न नसकेर संसारका प्रसिद्ध विश्वविद्यालयमा शान्ति र लोकतन्त्रको व्याख्यान दिने पिएचडीधारीहरू पनि सबै छोडेर रिसोर्ट सञ्चालन गर्दै गुमनाम भएको पनि हामीकहाँ नभएको होइन । यहाँ यही असहाय परिस्थितिसँग विद्रोह गर्न खोजेकै कारण दर्जनौँ मस्तिष्क गुमनाम छन् ।
तर, समस्या के हो भने एकल रूपमा ग्रेगरजस्तो असहायताबाट विद्रोह गरे पनि उनीहरू पनि झनै निरूपाय मानसिकतामा बाँचिरहेको लाग्छ । वर्तमानप्रति उनीहरूको असन्तुष्टि झन् बढी छ, तर उनीहरू यथार्थबाट भाग्न खोजेको भान गरिरहेका हुन्छन् त यथार्थमा हस्तक्षेप गर्न नसकेको पीडा उनीहरूले पलपल भोगरहेका छन् भन्न सकिन्छ ।
मानिसले प्रतिपल भोगिरहने एक्लोपन, अमानवीय प्रवृत्ति र परिस्थितिसँग अनैच्छिक सम्झौता गर्न बाध्य हुनुपर्ने परिस्थितिलाई पूर्ण रूपमा परिवर्तन गर्न नसक्दा यो नियतिले निरन्तरता पाइरहन्छ । हामी झन् पछि झन् परिस्थितिको बन्दी बन्दै जान्छौँ । उपायविहीनताले हाम्रो मन झनै कमजोर हुँदै जान्छ । हामी बाँचिरहेका हुन्छौँ, तर पनि बाँचेका हुँदैनौँ । मात्र एउटा रुटिन बन्छ जिन्दगी ।
पुँजीवादको विकासले जसरी मानवीय सम्बन्ध, नैतिकता, सामाजिक मूल्य र मान्यतामाथि प्रहार गरेको छ, जसरी राजनीतिक नैतिकता क्रमशः मरणासन्न हुँदै छ, जसरी दैनिक जीवनमा मानिस महत्वाकांक्षा र मनबिचको द्वन्द्वले प्रतिदिन क्षय हुँदै छ, यसको विकल्प पलायन कदापि होइन बरु प्रतिरोधको संस्कृतिको पुनरोदय नै हो । प्रतिरोध मात्रै मन जोगाउने एउटा अस्त्र हो । अहिलेको समयको यो मात्रै एउटा हतियार हो । आत्मसुरक्षाको कवचमा रहेर गरिने प्रतिरोध होइन, समयसँग विद्रोहको चेतसहितको प्रतिरोध अहिलेको आवश्यकता हो । प्रतिरोध सधैँ विजयको ग्यारेन्टी होइन । तर, प्रतिरोध नगर्नु पराजयको स्वीकृति हो । यही अन्तर बुझ्ने दिनदेखि ग्रेगरहरू फेरि मानिस बन्न थाल्छन् ।
यदि हामीले समयसँगको अन्यायपूर्ण सम्झौता अस्वीकार गर्न सक्यौँ भने इतिहासको दिशा पनि बदलिन सक्छ ।
काफ्काले एउटा ग्रेगर देखेका थिए । आजको समाजले हजारौँ ग्रेगर जन्माइसकेको छ । फरक यत्ति हो–त्यतिवेला एउटा मानिस किरामा बदलिएको थियो, आज त हरेक मानिस ग्रेगर बनेको छ । प्रश्न अब ग्रेगर बन्ने कि त्यसविरुद्ध उठ्ने भन्ने मात्र हो । एकजना ग्रेगर पो असहाय हुन सक्ला, तर सयौँ ग्रेगरहरूले समय र परिस्थितिविरुद्ध विद्रोह गरे भने नि ।
साझा प्रतिरोध गरौँ त ? समयविरुद्ध साझा प्रतिरोध ।
असहाय अनि निरूपाय परिस्थितिविरुद्ध प्रतिरोध ।
सायद काफ्का आज जीवित हुन्थे भने मेटामोर्फोसिस फेरि लेख्दैनथे, भन्न सकिन्छ– उनी प्रतिरोधको कथा लेख्थे– किराबाट फेरि मानिस बन्ने प्रतिरोधको उपन्यास ।