शंखमूलको होस्टेलमा टेबलले हानेर हत्या, थप एक आरोपी मकवानपुरबाट पक्राउ

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौंको शंखमूलस्थित होस्टेलमा भएको हत्याका अर्का आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीय प्रमित पटेललाई मकवानपुरबाट पक्राउ गरी प्रहरीले काठमाडौंमा ल्याएको छ ।  

शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका– १७ का २२ वर्षीय वसन्त कालाथोकीको शुक्रबार बिहान हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा घोराही उपमहानगरपालिका– ३ का १८ वर्षीय शेखर यादव शुक्रबार बिहानै पक्राउ परेका थिए । ‘हामीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएका छौँ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापाले भने, ‘मुख्यगरी यसमा शेखर र प्रमितको संलग्नता रहेको खुलेको छ ।’ 

कोठामा बसिरहेका वेला एक्कासि टी–टेबलले टाउकोमा हानेर उनको हत्या भएको थियो । गम्भीर घाइते भएका उनले उपचारको क्रममा सिभिल अस्पतालमा शुक्रबार १२ बजे मृत्यु भएको थियो । सुरुमा धारिलो हतियार प्रहार गरेको आशंका प्रहरीले गरे पनि प्रत्यक्षदर्शीको भनाइअनुसार टेबलले निधारमा प्रहार गरेको खुलेको छ । 

विवादको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बिहीबार राति उनीहरू सँगै थिए । रातिकै कुनै विवादलाई लिएर त्यसरी आवेगमा आई हत्या गरेको हुन सक्ने प्रहरी आशंका छ । प्रहरीले यादवलाई तत्कालै पक्राउ गरेकोमा पटेललाई भने भाग्दै गर्दा मकवानपुरबाट दिउँसो मात्र पक्राउ गरेको हो । 

सुझावित समाचार