विशेष महाधिवेशनपछि पनि सुल्झिएन कांग्रेसको क्रियाशील सदस्यता विवाद

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद महाधिवेशनपिच्छे बल्झिँदै आएको छ । विशेष महाधिवेशनपछि नयाँ नेतृत्व आए पनि सदस्यता अद्यावधिकको विषय अपेक्षाकृत रूपमा अघि बढ्न सकेको छैन ।

कांग्रेसमा सामान्यतः हरेक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर, महाधिवेशनका वेला नवीकरणको प्रावधान निलम्बन गरी एकैपटक सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने अभ्यास हुँदै आएको छ । यही कारण महाधिवेशनको मुखमा क्रियाशील सदस्यता लिने र नवीकरण गर्नेको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि भने सदस्यता अद्यावधिकको काम पूरा गरेर मात्रै महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार वैशाख महिनाभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय दिइएको थियो । तर, अपेक्षाअनुसार सदस्यता अद्यावधिक हुन सकेन ।

कांग्रेसको १४औँ महाधिवेशनमा आठ लाख ८२ हजार ८१६ क्रियाशील सदस्य कायम गरिएको थियो । तीमध्ये करिब सात लाख सदस्यले सदस्यता अद्यावधिक गरेको र करिब एक लाख नयाँ सदस्यले सदस्यताका लागि आवेदन दिएको सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिएका छन् ।

क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको काम अपेक्षित गतिमा अघि नबढ्दा कांग्रेसको आगामी महाधिवेशन प्रक्रिया प्रभावित हुने देखिएको छ । सदस्यता विवादकै कारण पार्टीभित्रको आन्तरिक विवाद थप चर्किँदै गएपछि कांग्रेस विभाजनको जोखिमसमेत बढेको नेताहरूले बताउन थालेका छन् ।

सुझावित समाचार