साल्ट ट्रेडिङ कर्पोरेसनसँगको साझेदारीमा नेपाल जनप्रशासन संघले धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजू श्रेष्ठ र पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई सम्मान गर्ने निर्णय गरेको छ।
दुवैजनालाई आउँदो सोमबार एक कार्यक्रमबिच सम्मान गरिने संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए। साल्ट ट्रेडिङका पूर्वप्रमुख स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा स्थापित पुरस्कारमध्ये ०८१ को हेमबहादुर मल्ल सम्मान डा. श्रेष्ठलाई र ०८२ को सोही सम्मान खनाललाई दिने निर्णय भएको संघले जनाएको छ।
पुरस्कारको राशि जनही दुई लाख रुपैयाँ छ। धुलिखेल अस्पताललाई नमुना अस्पतालका रूपमा स्थापना तथा सञ्चालन गर्न डा. श्रेष्ठले पुर्याएको योगदानस्वरूप सम्मान गर्ने निर्णय भएको संघले जनाएको छ।
‘डा. श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा अघि बढाइएको कार्यले स्वास्थ्य सेवाको प्रभावकारिता, गुणस्तर र नागरिकप्रतिको उत्तरदायित्वलाई सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याएको संघको ठहर छ,’ अध्यक्ष आचार्यले भने, ‘उहाँको योगदान व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही संस्थागत विकास, गुणस्तरीय सेवाप्रवाह र सार्वजनिक हितप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा रहेको छ।’
पूर्वअर्थसचिवसमेत रहेका पूर्वअर्थमन्त्री खनालले सार्वजनिक प्रशासन र सेवामा गरेको योगदानबापत सम्मान गरिएको संघले जनाएको छ। ‘सार्वजनिक जिम्मेवारीमा रहँदा नीति, प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा उहाँले निर्वाह गर्नुभएको भूमिका र योगदानलाई सम्मान छनोटको क्रममा महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ,’ अध्यक्ष आचार्यले भने।
साल्ट ट्रेडिङको सहकार्यमा संघले बर्सेनि सार्वजनिक सेवामा व्यावसायिकता, उत्तरदायित्व र संस्थागत मूल्यलाई आत्मसात् गर्दै विशिष्ट योगदान पुर्याएकामध्ये एकजनालाई सम्मान गर्दै आएको छ। पूर्वसचिव कृष्ण ज्ञवाली संयोजकत्वको छनाेट समितिले श्रेष्ठ र खनाललाई सम्मान गर्न सिफारिस गरेको हो। हालसम्म २१ जनाले यो सम्मान प्राप्त गरिसकेको संघका अध्यक्ष आचार्यले जानकारी दिए।