सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा गत बुधबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ अनुसार केन्द्र स्थापना गर्न लागिएको हो।
सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवाप्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन केन्द्र स्थापनाको तयारी भइरहेको कार्यालयले जनाएको छ।
गठन आदेशबमोजिम समितिसमेत गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन भएको हो। केन्द्रको प्रशासकीय प्रमुखका रूपमा एकजना कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ।
समितिले केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन तथा समन्वय गर्नेछ। केन्द्रबाट सञ्चालन हुने सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मत–सम्भारसम्बन्धी कामको सुपरिवेक्षण गर्ने जिम्मेवारी पनि समितिको हुने कार्यालयको भनाइ छ। केन्द्रमा विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) कर्मचारीसहित कुल ३० जना कर्मचारी रहनेछन्।