प्रधानमन्त्री शाह पोखरामा, शनिबार हेलिकाेप्टरमार्फत मुस्ताङ जाने

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पोखरा आइपुगेका छन्। सडकमार्ग हुँदै पोखरा आएका प्रधानमन्त्री बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका– ६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा पुगेका छन्। आफैँ गाडी चलाएर आएका प्रधानमन्त्रीको टोलीमा सुरक्षाकर्मीबाहेक परिवारका सदस्य र अन्य गरी १० जना छन्।

शुक्रबार भिलेजमा बसेर शनिबार बिहान हेलिकोप्टरमार्फत प्रधानमन्त्रीको टोली मुस्ताङ जाने कार्यक्रम रहेको स्रोतले बताएको छ। प्रधानमन्त्रीको भ्रमणबारे कास्कीसँगै मुस्ताङ प्रहरी प्रशासनलाई औपचारिक जानकारी भने छैन। मुस्ताङ पुगेर शनिबार प्रधानमन्त्रीको टोलीले प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने बताइएको छ। मुस्ताङमा अन्य कार्यक्रम छ–छैन भन्नेबारे थप जानकारी सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्रीको बसाइको चाँजोपाँजोसँगै आवश्यक सुरक्षा व्यवस्थापनका लागि काठमाडौंंबाट टोली अस्ताम आएको छ। सोही टोलीले आवश्यक सम्पूर्ण व्यवस्थापन गरेको हो।

सञ्चालक नै सरप्राइज्ड
प्रधानमन्त्रीको आजको भ्रमणका लागि अन्नपूर्ण इको भिलेजमा तीन महिनाअघि नै फोनमार्फत तीनवटा कटेज बुकिङ भएको थियो। आज शुक्रबारका लागि बुकिङ भए पनि कसका लागि बुकिङ भएको भन्नेबारे खुलाइएको थिएन। तर, शुक्रबार बिहान सञ्चारमाध्यममा प्रधानमन्त्री आउने भन्ने थाहा पाएपछि आफूहरू सरप्राइज्ड भएको भिलेजका सञ्चालक विश्व अधिकारीले बताए।

अधिकारीका अनुसार भिलेजमा कुल १३ वटा कटेज रहेकोमा प्रधानमन्त्रीको टोलीले तीनवटा कटेज बुक गरेकाे छ। एउटा कटेजमा सिंगल बस्दा चार र डबल बस्दा आठजना बस्न मिल्ने उनले बताए। एउटा कटेजको एक रातको बसाइ र खानाको गरी २८ देखि ३० हजार रुपैयाँ शुल्क (नेपालीका लागि) लाग्छ। 

भिलेजका सबै कटेज भरिभराउ रहेको बताउँदै अधिकारीले हाल भिलेजको चार कटेजमा योग तालिमका लागि आएका विदेशीहरू रहेको जानकारी दिए। प्रधानमन्त्री बस्न पुगेको भिलेज विशेष गरी ध्यान र योगसँगै प्रकृतिसँग रमाउने पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ।

परम्परागत ढुंगा र काठको प्रयोग गरी निर्माण गरिएको भिलेजबाट अन्नपूर्ण, धौलागिरि, मनास्लुलगायत हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने अधिकारीले बताए।

सुझावित समाचार