नेपाल–भारतबिच संयुक्त कार्यसमूहको बैठक सम्पन्न, सीमा अतिक्रमणलगायत विषयमा छलफल

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल र भारतबिच संयुक्त कार्यसमूह (जेडब्लुजी)को १४औँ बैठक सम्पन्न भएको छ। बैठकमा सीमापार अपराध नियन्त्रणदेखि सीमा अतिक्रमणसम्मका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। 

भारतको देहरादुनमा सम्पन्न बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालका सहसचिव आनन्द काफ्लेले प्रतिनिधित्व गरेका थिए। त्यस्तै, भारतको तर्फबाट गृह मन्त्रालयका सहसचिव पौसुमी बासुले नेतृत्व गरेकी थिइन्। 

 बैठकमा सन् २०२५ को मार्चमा नेपालको पोखरामा सम्पन्न १३औँ बैठकमा भएका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै सीमापार अपराध, लागुऔषध, मनोद्विपक पदार्थ, प्रतिबन्धित तथा नियन्त्रित औषधि, वन्यजन्तु तथा मानव बेचबिखन, जाली नोटसहितका आर्थिक अपराध, हातहतियार तथा खरखजानालगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्न दुवै राष्ट्रका सम्बद्ध निकायहरूबिच प्रभावकारी समन्वय र तत्काल सूचना आदान–प्रदानलाई सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भयो,’ गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, नेपाली पक्षले साइबर अपराध र सीमापार डिजिटल ठगीलगायतका उदीयमान सुरक्षा चुनौतीका विषयहरू उठाएको थियो।’

‘बैठकमा दशगजा क्षेत्रको अतिक्रमण र अनधिकृत प्रयोगमा नियन्त्रण, एकीकृत जाँचचौकीको पूर्ण सञ्चालन र उपयोग, एवं पारस्परिक कानुनी सहायतालगायतका महत्त्वपूर्ण सीमा व्यवस्थापनका विषयहरूमा समेत घनीभूत छलफल भएको विज्ञप्तिमा उल्लेख छ । 

दुईदिने बैठकमा दुवै देशका नागरिकहरूको सीमापार आवागमनलाई सहज बनाउने, नेपाल र भारतको सीमानाका हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण र निगरानी संयन्त्रलाई सुदृढ पार्ने, विपत् व्यवस्थापन र नेपाल–भारत जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।  सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा आधुनिक तथा नवीनतम प्रविधि,सिसिटिभीलगायत आधुनिक उपकरणको प्रयोगबाट सुरक्षा निगरानी बढाउन दुवै पक्षबिच सहमति भएको छ। 

कार्य समूहको बैठक हरेक वर्ष बस्दै आएको छ । आगामी वर्ष यस्तो बैठक नेपालमा बस्नेछ।  

सुझावित समाचार