बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रदेश सभा सचिवालयलाई औपचारिक पत्राचार गरेका हुन्।
नेपालको संविधानको धारा १६८ (२) बमोजिम गठन भएको सरकारले संविधानअनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकाले मुख्यमन्त्री थापाले नियुक्त भएको तीन दिनमै संसदको विश्वास खोज्न लागेका हुन्।
थापा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६३ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले भदौ ३ गते तीन दलको समर्थनसहित प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरेका थिए। त्यसको भोलिपल्ट भदौ ४ गते प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए।
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। सत्तागठबन्धनले आफूहरूसँग आवश्यकभन्दा बढी अर्थात् ६३ सांसदको समर्थन रहेको दाबी गर्दै आएको छ।