काठमाडौंको शंखमूलस्थित एक होस्टेलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार छन्।
काठमाडौं महानगरपालिका– १०, शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका– १७ का २२ वर्षीय वसन्त कालाथोकीमाथि सोही होस्टेलमा बस्ने बाराको कलैया उपमहानगरपालिका– ३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर थियो भने उनी बोल्नसमेत नसक्ने अवस्थामा रहेको बताइएको छ।
उपचारका क्रममा चिकित्सकले कालाथोकीलाई मृत घोषणा गरेका हुन्। घटनापछि प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण तथा अन्य संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।