सहकारीका बचतकर्ताको रकम हिनामिनामा मुछिएका ज्ञानबहादुर तामाङलाई मन्त्री नियुक्त गरेका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पदभार ग्रहणपछि पहिलो निर्णय भने राष्ट्रिय सदाचार नीति, २०८३ कार्यान्वयन गर्ने गरेका छन् ।
संघीय सरकारले हालै जारी गरेको सदाचार नीतिलाई प्रदेशमा प्रभावकारी कार्यान्वयनमा लैजाने उनको निर्णय छ । सदाचार नीतिको कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गर्न मुख्यमन्त्री कार्यालयका शासकीय सुधार सचिव उमेश ढकालको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि मुख्यमन्त्री थापाले गरेका छन् ।
समितिमा बैठक तथा प्रशासन सचिव रामबाबु पुरी, आन्तरिक मामिला मन्त्रालयका सचिव महेश भट्टराई, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव नारायण मैनाली तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी सदस्य छन् ।