एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । यो नयाँ व्यवस्थासँगै ग्राहकले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने बताइएको छ ।
नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले जुनसुकै स्थान वा डिभाइसबाट सजिलै कर्जाका लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी रियल–टाइममा ट्रयाक गर्न सक्नेछन् । यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।
बैंकका अनुसार आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको हो । सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बैंकले जनाएको छ । एनएमबिले देशभरका एक सय ९७ शाखा, एक सय ७६ एटिएम र नौवटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।