बेदकोटमा आधुनिक ‘कोल्डस्टोर’ बन्दै

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको एक स्थानीय सरकारले आधुनिक चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गर्न लागेको छ। किसानलक्षित गरेर बेदकोट नगरपालिकाले हरपाल गाउँमै आधुनिक कोल्डस्टोर निर्माण गर्न लागेको हो। कार्यालयसहित पार्किङ, तरकारी एवं फलफूलका पनि अलग–अलग प्रकारअनुरूप छुट्टाछुट्टै चेम्बर निर्माण गरिएका छन्। 

झन्डै १० करोड लागतमा निर्माण हुन लागेको कृषि वस्तुको भण्डारण गर्नका लागि नगरकै गौरवको कोल्डस्टोर योजना रहेको बेदकोट नगरपालिकाले जनाएको छ। बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले स्थानीय एवं जिल्लाका किसानले उत्पादन गरेको तरकारी एवं फलफूल स्टोर गर्नका लागि आधुनिक कोल्ड स्टोर बनाउन लागेको बताए। मेयर बोहराका अनुसार पालिकासहितका प्रदेश र संघीय सरकारको लगानीमा कोल्ड स्टोर निर्माण हुन लागेको छ। 

‘यो हाम्रो नगरकै गौरवको योजना हो, यसमा किसानको भविष्य जोडिएको छ,’ उनले भने, ‘तत्कालीन अशोक चन्द मेयर सापकै पालादेखि सुरुवात गरियो, अब मेरै कार्यकालमा सञ्चालन गर्छु।’ मेयर बोहराले आगामी माघ मसान्त ०८३ भित्रै निर्माण व्यवसायीले सम्पन्न गर्ने गर्ने सम्झौता भएकाले बाँकी काम पनि पूरा गरेर आगामी चैतभित्रै सञ्चालन गर्ने बताए। 

बोहराका अनुसार १० कट्टा जमिन क्षेत्रफल रहेको कोल्डस्टोरको भवन निर्माण कार्यसमेत ८० प्रतिशत सम्पन्न भएको छ। ‘भौतिक संरचना निर्माण भइसकेका छन्,’ उनले भने, ‘अब तरकारी तथा फलफूलका च्याम्बरभित्र मेसिन जडान गर्न बाँकी छ, केही काम पर्खालसहितका संरचना बनाउन मात्रै बाँकी छ।’  

आलु, प्याजसहितका तरकारी एवं फलफूल चिस्यानका लागि १५ हजार क्विन्टल क्षमताको उक्त कोल्डस्टोर सञ्चालनका लागि नगरपालिकाले कार्यविधि बनाएरै सञ्चालन गरिने मेयर बोहराको भनाइ छ । मेयर बोहराले पश्चिम नेपालका थारू समुदायले उत्पादन गर्ने रैथानी आलुको संरक्षण र प्रवर्द्धनदेखिका बजारमा आवश्यकताअनुरूप अफसिजनमा समेत तरकारी भण्डारणका लागि कोल्डस्टोर लाभदायक हुने बताए ।

उनले बेदकोटसहितका अन्य पालिकाहरूमा आलु उत्पादन राम्रो भएकाले समेत किसानलाई नगर तथा जिल्लामै तरकारी भण्डारका लागि सुविधा हुने बताए । ‘स्वदेशमै तरकारी उत्पादन, भण्डारण तथा बिक्री–वितरण गर्नका लागि यो किसान, उपभोक्ताका लागि अत्यन्तै हितकार छ,’ उनले भने, ‘भारतबाट आउने तरकारीसमेत रोक्ने उद्देश्य रहेको छ।’ 

पाँच वर्षको अवधिमा कोल्डस्टोर निर्माणका लागि विभिन्न निर्माण कम्पनी फर्मसँग सम्झौता गरिएको र सोहीअनुरूप कामकाज भएको र बाँकी काम पनि हुन लागेको पूर्वाधार शाखाले जनाएको छ। पूर्वाधार शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८देखि निर्माण कार्यसमेत विभिन्न कम्पनी गरेका छन्। 

कोल्डस्टोर निर्माण साइड इन्चार्जसमेत रहेका सबइन्जिनियर दिनेश लामाले भौतिक संरचना निर्माण गरिसकेको बताउँदै उनले अब विद्युतीयसहितका मेसिन उपकरण जडान कार्य हुने बताए । नेचुरल–रिदम–चौधरी जेभीसँग पाँच करोड ६८ लाख ५५ हजार ९९९ रुपैयाँमा ३० माघ ०८३ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।

त्यसअघि जयलक्ष्मी सिसिएसभेजीले दुई करोड २३ लाख आठ हजार ५७६, न्यु कालिका ४३ लाख, श्री न्यु बासुलिङ कन्स्ट्रक्सनले ६६ लाख तीन हजार ३९३ र दीपक बोहरा सञ्चालक रहेको निर्माण कम्पनीले ६३ लाखमा भवनसहितका संरचना निर्माण गरिसकेका थिए । 

नगरप्रवक्ता चित्रदेव भट्टले कोल्डस्टोर सञ्चालनमा आएसँगै स्थानीय किसान लाभाविन्त हुने बताए । उनले शीतभण्डारणको अभावमा कृषि उपज कुहिएर नष्ट हुने समस्या हट्ने दाबी गर्दै बेमौसमी तरकारीका लागि समेत राम्रो हुने बताए । बेदकोट नगरपालिका– २ का वडाध्यक्ष नरेश सिंहले राजमार्गदेखि कोल्डस्टोरसम्म यातायात (सडक विस्तार) गरेरै भए पनि सञ्चालन गरेर किसानलाई लाभाविन्त बनाउनुपर्नेमा जोड दिए । नगरकै कोल्डस्टोर निर्माण हुन थालेपछि स्थानीय किसान उत्साहित भएका छन् । किसानहरूले समयमै निर्माण कार्य सम्पन्न गरेर सञ्चालन हुनुपर्ने माग अघि सारेका छन् । 
 

सुझावित समाचार