नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी १९ देखि आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुने उक्त प्रदर्शनी २१ भदौसम्म भृकुटीमण्डपमा चल्ने बताइएको छ ।
नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका स्टल रहनेछन् । प्रदर्शनीले उद्योग, व्यापार तथा प्रविधिबिच सहकार्य अभिवृद्धि गर्दै यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासलाई थप व्यवस्थित बनाउन प्रदर्शनीले विशेष भूमिका खेल्ने विश्वास आयोजकको छ । साथै, ऊर्जा तथा विद्युतीय व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनमार्फत उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवाप्रदायकबिच नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको बताइएको छ ।
प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक, वितरक तथा सम्बन्धित सरोकारवालालाई एउटै व्यावसायिक प्लाटफर्ममा ल्याई ज्ञान, अनुभव र प्रविधिको आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ । आयोजकका अनुसार यसबाट विद्युत् तथा विद्युतीय सामग्रीसम्बन्धी उद्योगको प्रवर्द्धन, व्यापार विस्तार तथा दीर्घकालीन व्यावसायिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा नेपाली उत्पादनसँगै बहुराष्ट्रिय कम्पनीहरूद्वारा उत्पादित ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबलका साथै इलेक्ट्रोनिक्स क्षेत्रसँग सम्बन्धित विविध उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी अवधिभर ३० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको विश्वास छ ।