रुपन्देहीमा साउनमा विभिन्न प्रकृतिका १८८ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार तीमध्ये सबैभन्दा धेरै ८१ वटा मुद्दा संगठित तथा आर्थिक अपराधतर्फका छन्।
प्रहरीका अनुसार साउनमा चालू मुद्दाका १५९ जना प्रतिवादी पक्राउ परेका छन्। संगठित तथा आर्थिक अपराधपछि ज्यानसम्बन्धी ३५, आत्महत्यासम्बन्धी २६, सामाजिक अपराधका १२, महिला तथा बालबालिकासम्बन्धी १०, चोरीका ६ र सवारीसम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार फैसला कार्यान्वयनतर्फ ४९ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १७ लाख ९१ हजार ३५० रुपैयाँ जरिवाना तथा १२ वर्ष ६ महिना ११ दिन कैद सजाय कार्यान्वयन गर्नुपर्ने देखिएको थियो।
लागुऔषधका १८ मुद्दा, २५ जना पक्राउ
लागुऔषध नियन्त्रणतर्फ साउनमा १८ वटा मुद्दा दर्ता भएका छन् भने २५ जना पक्राउ परेका छन्। प्रहरीले १४ किलो ३६८ ग्राम गाँजा, ३३ ग्राम २५८ मिलिग्राम ब्राउनसुगर, डाइजापाम १८८ एम्पुल, बुप्रेनोर्फिन १८४ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड १८४ एम्पुल र २१० ग्राम चरेससहित विभिन्न प्रकारका लागुऔषध बरामद गरेको जनाएको छ।
हतियारदेखि नक्कली नोटसम्म बरामद
साउनमा प्रहरीले हातहतियार, ठगी, चोरी तथा नक्कली नोट कारोबारमा संलग्न व्यक्तिमाथि पनि कारबाही गरेको छ। बुटवल उपमहानगरपालिका– ९, नयाँ बसपार्कबाट एकजनालाई रिभल्वरको गोलीसहित पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनको स्थायी ठेगाना मकवानपुरबाट एक थान रिभल्वर र थप पाँच गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, आफू प्रहरीको घुमुवा भएको भन्दै पेस्तोल देखाएर रकम माग्ने एक व्यक्तिलाई नक्कली रिभल्वर, गाँजा, मोबाइल र नगदसहित पक्राउ गरिएको थियो।
शुद्धोधन गाउँपालिका– ४ को हाटबजारमा सुनको सिक्री लुटेको आरोपमा प्रहरीले पाँचजनालाई गाडीसहित पक्राउ गरेको थियो। उनीहरूको साथबाट सुनजस्तो देखिने सिक्री, चार थान मोबाइल र एउटा स्कारपियो बरामद भएको छ।
सिद्धार्थनगर नगरपालिका– १२ मा भारतीय नक्कली नोट कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरी भारतीय ५०० दरका १४० थान नक्कली नोट बरामद गरेको जनाएको छ।
कल बाइपासमा पनि कारबाही
सिद्धार्थनगर नगरपालिका– १, बेलहिया बसपार्कस्थित एक होटेलबाट कल बाइपासमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट ५६ थान भारतीय सिमकार्ड, चार थान चिनियाँ सिमकार्ड, सिम जडान गरिएका उपकरण, राउटर, मोबाइल, ब्याट्री र इन्भर्टरलगायत सामग्री बरामद गरेको जनाएको छ।
घरेलु हिंसाका ८५ उजुरी
महिला तथा ज्येष्ठ नागरिकतर्फ साउनमा घरेलु हिंसाका ८५ वटा उजुरी परेका छन्। तीमध्ये ५० वटा मिलापत्र गराइएको वा अदालत पठाइएको र ३५ वटा बाँकी रहेको प्रहरीको विवरणमा उल्लेख छ।
उजुरीमध्ये ६० वटा घरायसी झैझगडा, १२ वटा कुटपिट तथा घाउजाँच, आठवटा घरमा खान–बस्न नदिएको, चारवटा मादक पदार्थ सेवन गरी गालीगलौज गरेको र एउटा विवाह दर्ता तथा नागरिकता नबनाइदिएको विषयसँग सम्बन्धित छन्।
प्रहरीमा प्रत्यक्ष रूपमा ६८४ वटा ठाडो उजुरी दर्ता भएकामा ६६२ वटा फर्स्याेट भएका छन् भने २२ वटा बाँकी छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आएका ५१ उजुरीमध्ये ४६ वटा फर्स्याेट भएका छन्।
सवारी दुर्घटनामा पाँचजनाको मृत्यु
साउनमा रुपन्देहीमा १५९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने २१३ जना घाइते भएका छन्। दुर्घटनामा २१५ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ।
ट्राफिक चेकिङका क्रममा तीन हजार ३२६ वटा कारबाहीबाट ५७ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
भन्सार छलीबाट दुई करोड २५ लाखभन्दा बढी राजस्व नियन्त्रण
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ प्रहरीले दुई करोड २५ लाख ४४ हजार ६५६ रुपैयाँबराबरको राजस्व चुहावट नियन्त्रण गरेको जनाएको छ। यस क्रममा १० जना पक्राउ परेका छन् भने १८ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्।
अवैध पशुपक्षी चोरी पैठारी नियन्त्रणतर्फ एउटा मोटरसाइकलसहित १८ वटा कुखुरा, दुई सयवटा चल्ला र सातवटा बाख्रा बरामद गरिएको छ। यसबाट दुई लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
विपतका १४ घटना, डुबेर तीनजनाको मृत्यु
साउनमा रुपन्देहीमा १४ वटा विपतका घटना भएका छन्। तीमध्ये तीनवटा आगलागीका घटना रहेका छन्। करेन्ट लागेर एकजनाको मृत्यु र ६ जना घाइते भएका छन् भने आगलागीमा एकजना घाइते भएका छन्।
डुबेर तीनजनाको मृत्यु र एकजना घाइते भएका छन्। विपत् व्यवस्थापनका क्रममा ८७ जना प्रहरी परिचालन गरिएको थियो।
जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता
प्रहरीले अपराध नियन्त्रणसँगै समुदाय र विद्यालयकेन्द्रित जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको जनाएको छ।
विद्यालयमा लागुऔषधविरुद्ध, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध, ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण, साइबर अपराध, बालविवाह न्यूनीकरण र सरसफाइलगायतका विषयमा १६ वटा कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा ८३५ विद्यार्थी सहभागी भएका थिए।
समुदाय साझेदारीअन्तर्गत लागुऔषध, ट्राफिक नियम, मानव बेचबिखन, घरेलु हिंसा, प्राकृतिक प्रकोप, चोरी नियन्त्रण, वृक्षरोपण, महिला हिंसा न्यूनीकरण, साइबर अपराध, बाल यौन दुर्व्यवहार तथा बाढीपहिरो र डुबानलगायत विषयमा १०७ वटा कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरी हटलाइनमा चार हजार ७७९ कल
जिल्ला प्रहरी कार्यालय तथा प्रहरीका हटलाइन नम्बरमा साउन महिनामा चार हजार ७७९ वटा कल आएका छन्।
उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको तथा बाह्य संघसंस्थाबाट उत्कृष्ट कार्य गरेबापत दुईजना प्रहरी कर्मचारीले प्रशंसापत्र प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।