अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुस रकमसहित एकजनालाई धनगढीबाट पक्राउ गरेको छ। अख्तियारको सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले कैलालीको गौरीगंगा नगरपालिका– ४ मा रहेको कालिका माविको व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई बिहीबार पक्राउ गरेको हो।
विद्यालयमा कार्यरत एक कर्मचारीलाई सेवासुविधा वृद्धि गरिदिने प्रलोभन देखाएर घुस मागेको भन्ने सूचनाका आधारमा ‘स्ट्रिङ’ अपरेसन गरिएको अख्तियारको सम्पर्क कार्यालय महेन्द्रनगरले जनाएको छ। कार्यालयका प्रमुख वेदप्रकाश भण्डारीका अनुसार घुस मागेको सम्बन्धमा पीडितले अख्तियारलार्ई निवेदन दिएका थिए।
बमले मागेको घुस रकमसहित उनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको भण्डारीले बताए। धनगढीको एक डेरी पसलबाट घुस लिँदै गर्दा बम पक्राउ परेका हुन्।