सम्पन्न भयो ‘आशा’ को छायांकन, माघेसंक्रान्तिमा प्रदर्शन हुने

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

उडान स्टुडियोको प्रस्तुति रहेको नेपाली फिल्म ‘आशा’को छायांकन सम्पन्न भएको छ । एकमहिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । उनका अनुसार फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेलआसपासमा गरिएको हो ।

‘हामी योजनाअनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट प्रोडक्सनको काम जुट्दै छौँ । कलाकार र प्राविधिकहरूको मिहिनेत र कामको प्रतिफल नै हाम्रो योजनाअनुरूप नै सबै काम सम्पन्न भएको छ । हामी जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्योभन्दा राम्रो काम भएको आभाष भएको छ । नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाएर दर्शकमाझ ल्याउनेछौँ,’ उनले भनिन् ।
 
उनले फिल्मको इन्डक्ल्याप समारोहमा फिल्मका एक प्राविधिक अर्जुन घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् । ‘आशा’मा प्राविधिक टिममा रहेर स्पटब्वाईका रूपमा काम गरिरहेका प्राविधिक अर्जुनकी श्रीमती ‘ब्लड क्यान्सर’बाट पीडित रहेको जानकारी पाएपछि पारिश्रमिकबाहेक उपचारका लागि उक्त रकम सहयोग गरेकी हुन् ।

उक्त रकम ग्रहण गर्दै प्राविधिक घिमिरेले निर्माण टिमलाई धन्यवाद दिए । ‘यहाँ काम गरेकै पैसा समयमा पाइँदैन, तर छायांकन सकिएलगत्तै मैले पाएको अतिरिक्त सहयोगका लागि आभारी छु । निर्मात्री थापालाई धन्यवाद,’ उनले भने ।  

फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारीलगायतको अभिनय रहेको छ । फिल्ममा कथा तथा निर्देशन राजीव गुरुङको रहेको छ ।
 
‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानुपर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौँ । एउटा मन छुने पारिवारिक कथामा फिल्म तयार गर्दै छौँ,’ उनले भने ।

आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ मा प्रदर्शन हुने फिल्मलाई रिच इन्टरटेनमेन्टले वितरण गर्दै छ । फिल्ममा सहलेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउन्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एन्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।  

यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) रहेका छन् ।
 

सुझावित समाचार