शिक्षा नियमावलीको १०औँ संशोधनले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा फेरबदलसँगै अन्याेल भएको छ । कतै अभिभावक नै भेटिँदैनन् भने कतै शिक्षा सहायक सहभागी भएर पनि विद्यालय व्यवस्थापन समिति गठन भएका छन् । यही अन्याेल देखिएको छ– बबई गाउँपालिकाका विद्यालयहरूमा ।
योग्य अभिभावक नभएकै कारण बबई गाउँपालिका– ७ स्थित सरस्वती मावि चरकमटियामा तीनपटकसम्म भेला हुँदा पनि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन भने वडा नं. ६ स्थित भानुभक्त मावि कौशिलापुरमा शिक्षा प्रमुखको सहभागिताविनै विद्यालय व्यवस्थापन समिति गठन भएको छ।
विव्यस गठनका लागि पालिकाको शिक्षा शाखा प्रमुख, वडाको प्रतिनिधि र प्रधानाध्यापक रहेको समितिले गठन प्रक्रिया अघि बढाउने व्यवस्था रहेको छ । तर, शिक्षा शाखाका रामचन्द्र वली गएर विद्यालय व्यवस्थापन समिति गठन गरेपछि स्थानीयले विधिसम्मत नभएको गुनासो गरेका छन्।
चरकमटियामा नहुनुको कारण यस्तो छ
केही समयअघि सकिएको बबई गाउँपालिका– ७ स्थित सरस्वती मावि चरकमटियामा व्यवस्थापन समिति गठन हुन सकेको छैन । तीनवटा बैठकले समेत विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रेमबहादुर राम्जाले बताए ।
विशेषगरी सदस्यहरूको शैक्षिक योग्यता र राजनीतिक संलग्नतासम्बन्धीको नियमले गर्दा योग्य व्यक्ति भेट्टाउनै मुस्किल परेको उनको भनाइ छ ।
नियमावलीअनुसार माविका लागि १२ कक्षा उत्तीर्ण गरेको र पाँच वर्षदेखि कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्ति सदस्य हुनुपर्ने प्रावधानले गर्दा त्यहाँ सोहीअनुसारका सदस्य नै फेला नपरेको उनको भनाइ छ ।
गएको जेठ १० गते र जेठ २४ गतेकाे बैठकमा गणपूरक संख्या नै पुगेन भने अर्को भेला साउन २२ गते बोलाइयो । सोही भेलामा नयाँ नियमावलीअनुसारका योग्य व्यक्तिले सम्पर्क गर्न भनी पाँचदिने सूचनासमेत जारी गरिएको थियो । तर, त्योअनुसार अभिभावक नआउँदा व्यवस्थापन समितिलाई पूर्णता दिन समस्या भएको पालिकाका शिक्षा शाखा प्रमुख सरस्वती भण्डारीले बताइन् । उनका अनुसार यसभन्दा अघिको कार्यकाल गएको जेठमै सकिएको हो । ‘हामीले पाँच दिनको सूचना पनि निकाल्यौँ, तर नियमावलीले भनेअनुसारको सदस्य फेला पर्नुभएन,’ उनले भनिन्, ‘तीनपटकसम्म भेला गराएर सूचना निकाल्दा पनि योग्य अभिभावकहरू आउन सक्नुभएन। यो समस्याले गर्दा उक्त विद्यालयमा अझै समिति गठन हुन सकेको छैन ।’ उक्त विद्यालय कक्षा १२ सम्म सञ्चालित छ ।
वैधानिकताको प्रश्न
त्यस्तै सोही पालिकाको वडा नं. ६ स्थित भानुभक्त मावि कौशिलापुरमा भने साउन २५ गते नयाँ समिति गठन गरिएको छ । तर, उक्त समिति गठन प्रक्रियामा शिक्षा शाखा प्रमुखको सट्टा सहायक शिक्षा अधिकृत सहभागी भएको भन्दै प्रश्न उठेको छ। संशोधित नियमावलीले सहजीकरण समितिमा शिक्षा शाखा प्रमुख रहनुपर्ने व्यवस्था गरेको छ । ‘हामीले शिक्षा शाखालाई विधिवत् पत्राचार गरेका थियौँ। शाखाबाट सहायक शिक्षा अधिकृत रामचन्द्र ओली सर आउनुभयो र उहाँकै उपस्थितिमा सर्वसम्मत रूपमा समिति गठन भयो,’ प्रधानाध्यापक नेकमान बस्नेत भन्छन्, ‘शिक्षा शाखाले जसलाई पठायो, हामीले त उनैलाई प्रतिनिधि मान्ने हो। प्रमुखले नभ्याएको अवस्थामा अरूलाई खटाउन सक्ने व्यवस्था हुनुपर्ने हो ।’
शिक्षा शाखा प्रमुख भण्डारीले भने आफू बिरामी भएर त्यहाँ जान नसकेको बताएकी छिन् ।
स्पष्ट रूपमा शिक्षा शाखा प्रमुख नै उपस्थित हुनुपर्ने व्यवस्था भए पनि आफू बिरामी भएका कारण जान नसकेको उनले स्वीकार गरिन्। ‘मलाई आँखा पाक्ने रोग लागेर घरमै आराम गरिरहेकी थिएँ,’ उनले भनिन्, ‘त्यसैले सहायक शिक्षा अधिकृत जानुभएको हो ।’
कौशिलापुरको समितिको कागजात शाखामा आइसकेको र साउन २७ गते त्यसको अभिलेख राखिएकोसमेत उनले जानकारी दिइन् ।