सातै प्रदेशमा ‘पार्टी पुनर्निर्माण महाभियान’ चलाउँदै एमालेको इतर पक्ष

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण
सातै प्रदेशमा ‘पार्टी पुनर्निर्माण महाभियान’ चलाउँदै एमालेको इतर पक्ष

बुधबार दिउँसो सुनसान देखिएको एमाले मुख्यालयपरिसर (बायाँ) । ग्राहकविनाको क्यान्टिन (दायाँ) । गत शनिबार झापा पुगेका अध्यक्ष ओलीले ‘आवारा र उरुन्ठेउलाहरू पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्छन्’ भनेर आक्रोश व्यक्त गरेका थिए ।

  • सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटीमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने, नभए भदौ तेस्रो सातादेखि बागमतीबाट छलफल चलाउने इतर पक्षको तयारी, नेतृत्वको राजीनामासहित केन्द्रीय कमिटी विघटन हुनुपर्ने इतर पक्षको मागप्रति आक्रोशित ओली कार्यदल र सचिवालयको बैठक छल्ने रणनीतिमा

पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग गर्नेलाई ‘आवारा’ र ‘किर्ना’को संज्ञा दिएका एमाले अध्यक्ष केपी ओलीले नेतृत्व हस्तान्तरणको विकल्पमा नजाने स्पष्ट गरेपछि संस्थापन इतर पक्षले ‘पार्टी पुनर्निर्माण महाभियान’ अघि बढाउने तयारी थालेको छ । एमालेको संस्थापन इतर पक्षले सातै प्रदेशमा पार्टी पुनर्निर्माण महाभियान सञ्चालन गर्ने गरी चरणबद्ध आन्तरिक छलफल अघि बढाएको हो ।

पार्टी पुनर्गठनको मुद्दालाई ओझेलमा पार्दै केन्द्रीय कमिटीको बहुमतबाट आफूअनुकूल निर्णय गराउने अध्यक्ष ओलीको रणनीतिलाई ‘काउन्टर’ गर्न इतर पक्षले यस्तो तयारी गरेको हो । तर, ओलीले राजीनामा दिई केन्द्रीय कमिटी विघटन गर्नुपर्ने माग कार्यदल र सचिवालय बैठकमा उठ्न सक्ने देखिएपछि त्यसलाई छल्ने रणनीति लिएका छन् ।

उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेलसहित पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट समूहबाट केन्द्रीय कमिटी र पदाधिकारीमा प्रतिनिधित्व गर्ने नेताहरूको समर्थन जुटाउँदै अभियान अघि बढाउनेबारे छलफल भइरहेको छ । मंगलबार पाण्डेसहित नेताहरू गोकुल बाँस्कोटा, आनन्दप्रसाद पोखरेल, कृष्णप्रसाद दाहाल, बैजनाथ चौधरी, पुरुषोत्तम पौडेल, माधव अर्याल, सोम मिश्र, अरविन्द सिंह, उषाकिरण तिमिल्सिना, नवराज सिलवालसहितले छलफल गरेका थिए । केही दिनदेखि उनीहरू औपचारिक–अनौपचारिक छलफलमा छन् ।

सचिवालयमा कार्यदलको प्रस्तावमा छलफल हुँदा ओली भारी अल्पमतमा पर्ने र त्यसको प्रभाव केन्द्रीय कमिटीमा परेर प्रतिकूल निर्णय हुने भयले ओलीले सिधै केन्द्रीय कमिटी डाक्न खोजिरहेको बुझाइमा इतर पक्षका नेता छन् । त्यसैले पनि सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटीमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने, नभए भदौ तेस्रो साताबाट बागमतीबाट छलफल चलाउने इतर पक्षको तयारी छ ।

संस्थागत छलफल नहुँदै पार्टीको विधि र विधानबाहिर गएर सामाजिक सञ्जालमा लेख्ने, बाहिर–बाहिर बैठक राख्नेहरूले अनुशासनहीन काम गरेको भन्दै ओलीले केही दिनयता उनीहरूमाथि कारबाही हुन सक्ने चेतावनी दिँदै आएका छन् । तर, यही वेला एघारौँ महाधिवेशनमा सहभागी प्रतिनिधिकेन्द्रित भेला बोलाएर अध्यक्ष ओलीबाहेकका नेताहरूको उपस्थितिमा नीति, विचार, सिद्धान्त, नेतृत्व र कार्यशैलीसहित समग्र पार्टी पुनर्गठनका विषयमा छलफल चलाउने इतर पक्षले योजना बनाएका छन् ।

महाभियानको प्रारम्भिक चरणमा प्रदेशस्तरीय छलफल र भेला आयोजना गर्ने विषयमा इतर पक्षका नेताहरूले केन्द्रित भएर आन्तरिक छलफल गरिरहेका छन् । बागमतीमा महाभियान भेला संयोजन गर्ने जिम्मेवारी नेताहरू आनन्दप्रसाद पोखरेल, सोम मिश्र र कृष्णप्रसाद दाहालले लिएका छन् । गण्डकीमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र सचिव खगराज अधिकारीले मिलेर महाधिवेशन प्रतिनिधि भेला आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, अरू प्रदेशमा पनि योजना बनाएरै भेला गर्ने इतर पक्षको तयारी छ ।

पूर्वकेन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका पूर्वमेयर सोम मिश्रले बागमती प्रदेशबाट भेला सुरु गर्ने गरी प्रारम्भिक तहमा अनौपचारिक छलफल चलेको बताए । त्यसपछि अरू प्रदेशहरूमा पनि क्रमशः भेलाहरू आयोजना हुन सक्ने उनले बताए । ‘एमालेको पुनर्जागरण मात्र होइन, पुनर्जन्म नै दिनुपर्ने आवश्यकता छ । त्यसैले एमाले पुननिर्माण महाभियान सुरु गर्ने गरी छलफल अगाडि बढाइएको छ,’ मिश्रले भने, ‘भेलामा गत महाधिवेशनका प्रतिनिधिहरू, प्रदेशका अगुवा नेता–कार्यकर्ता तथा अध्यक्षबाहेकका सिनियर नेताहरूलाई राखेर छलफल चलाउने तयारी गरिँदै छ ।’

पार्टीमा पुनर्गठन माग गर्ने कतिपय नेता–कार्यकर्तालाई लक्षित गर्दै उनले आवारा र पटक–पटक अवसर लिएर संकटका वेला पार्टी समाप्त पार्न लागेका किर्नाको संज्ञा दिइसकेका छन् । अर्कोतर्फ नेतृत्वको राजीनामासहित केन्द्रीय कमिटी विघटनबाट हुनुपर्ने इतर पक्षको मागप्रति आक्रोशित ओलीले कार्यदल र सचिवालयको बैठक छल्ने नीति लिएका छन् । चार दिनअघि गुन्डु पुगेका महासचिव शंकर पोखरेललाई ओलीले सिधै केन्द्रीय कमिटी बोलाइने बताएका छन् ।

जवाफमा पोखरेलले जेठ दोस्रो साता बसेको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार पुनर्गठन कार्यदलले पारित गरेको प्रतिवेदन सचिवालयमा छलफल नगरी केन्द्रीय कमिटीमा लगिए मान्य नहुने चेतावनी दिएका छन् । ओली र पोखरेलबिच पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नै लिएर टकराव बढेपछि इतर पक्ष संस्थागत प्रक्रिया छलिए महाधिवेशनका बहुमत प्रतिनिधिको हस्ताक्षर गराउने विकल्पतिर जाने निष्कर्षतिर पुगेको छ ।

यसअघि गजेन्द्र थपलिया, रमेश पौडेल, नविना लामालगायतको सक्रियतामा करिब ६ सयआसपास महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरिएको थियो । एघारौँ महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी थिए । विशेष महाधिवेशनका लागि बहुमत पुर्‍याउन एक हजार १३२ जना प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्छ ।

उता, अध्यक्ष ओली भने पुनर्गठन कार्यदलले जस्तो प्रतिवेदन दिए पनि केन्द्रीय कमिटीमा त्यसलाई सुविधाजनक रूपमा संशोधन गर्ने हैसियतमा रहेको विश्वासमा छ । एघारौँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईसहित १२ जना केन्द्रीय सदस्य मात्र अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका थिए ।

अहिले पुनर्गठनसम्बन्धी मुद्दामा १९ सदस्यीय सचिवालयमा भने ओली अल्पमतमा छन् । ओलीलाई हटाउन नहुने पक्षमा उनीसहित उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव लेखराज भट्ट, सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत र शेरधन राई मात्र खुलेका छन् । तर, ओलीलाई हटाएर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई र रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, यामलाल कँडेल, डा. राजन भट्टराई र हिक्मत कार्कीसहित ११ जना स्पष्ट रूपमा खुलिसकेका छन् ।

पछिल्ला दिनमा सचिव खगराज अधिकारी पनि बहुमत लाइनमै खुल्दै गएको नेताहरूको दाबी छ । तर, सचिव पद्मा अर्याल भने दुवै पक्षतिर स्पष्ट रूपमा खुलेकी छैनन् । अधिकारीले उपाध्यक्ष गुरुङसँग मिलेर गण्डकी प्रदेशमा पार्टी पुननिर्माण महाभियानकै पक्षमा भेला आयोजना गर्ने प्रतिबद्धतासमेत जनाइसकेको इतर पक्षका नेताहरूले दाबी गरेका छन् ।

गण्डकी प्रदेशमा पार्टी पुनर्गठनका लागि भएको छलफलमा विचार, संगठन, कार्यशैली, संख्या र जिम्मेवारीलगायत समग्र पक्षमै पुनर्गठन गर्नुपर्ने सुझाव बहुसंख्यकबाट आएको प्रदेश इन्चार्ज अधिकारीले बताए । ‘सुझाव मिश्रित नै छ, तर धेरैले विचार, संगठन, कार्यशैली, संख्या र जिम्मेवारीमा पुनर्गठन गरेर जान सुझाव दिएका छन्,’ अधिकारीले भने ।

उनले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनबारे आफूलाई जानकारी नभएको बताए । कार्यदलको बैठक नबस्नुको जिम्मेवारी अध्यक्षले नभई संयोजकले लिनुपर्ने उनको भनाइ छ । ‘बैठकको तयारी पुगेपछि बस्ला । तर, अहिलेसम्म किन डाकिएन, त्यसको जिम्मेवारी कार्यदलका संयोजकले लिनुपर्छ । त्यसपछि अध्यक्षसँगको कुरा अध्यक्षसँगै गरौँला,’ उनले भने ।

महाभियानको तयारीसम्बन्धी छलफलमा सक्रिय पूर्वकेन्द्रीय सदस्य माधव अर्यालले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन जस्ताको तस्तै संस्थागत विधि र प्रक्रियाअनुसार छलफलमा लैजानुपर्ने मागसहित अभियान सञ्चालनको तयारी भइरहेको बताए । ‘पार्टी कसैको निजी कम्पनी होइन, कार्यकर्ताको अहोरात्रको खटाइ र जनताको अपार मायाले बनेको हो,’ उनले भने, ‘त्यसैले देशभरका कार्यकर्ताले दिएका सुझाव पार्टीले सार्वजनिक गर्नुपर्छ । ती सुझाव ग्रहण गरेर त्यसअनुसार पार्टीलाई अगाडि बढाउनुपर्छ । अभियानमार्फत दबाब सिर्जना गर्ने कि भनेर छलफल गरिरहेका छौँ ।’

विद्या अचानक ‘मौन’
इतर पक्षले पार्टी पुनर्निर्माण महाभियानको तयारी गरिरहे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने त्यसलाई समर्थन गरेकी छैनन् । पार्टी सदस्यता नवीकरण गरेपछि समूहका भेला–बैठकबाट टाढिँदै आएकी भण्डारीले संकटका वेला विधि–पद्धतिबाहिर गएर पार्टीलाई थप कमजोर बनाउने दिशामा जान नहुने धारणा राख्दै भेटघाटमा नेताहरूलाई सम्झाउने गरेकी छिन् ।

सदस्यता नवीकरणयता भण्डारी सार्वजनिक मञ्चबाट समेत एमालेभित्रको गुटगत गतिविधिबारे मौन रहँदै आएकी छिन् । एमालेभित्रका कतिपय नेताहरूले भने कुनै पनि वेला अध्यक्ष ओलीले उनलाई नेतृत्वमा अघि सार्न सक्ने सम्भावनाका कारण पनि भण्डारी मौन बस्न रुचाएको हुन सक्ने आकलन गरेका छन् ।

भण्डारीको समर्थन नरहे पनि संस्थापन इतर पक्षले भने बागमती प्रदेशबाटै भेला सुरु गर्ने गरी तयारीलाई तीव्रता दिएको छ । कार्यदल र सचिवालयमा प्रतिवेदनमाथि छलफल हुँदा केन्द्रीय कमिटीमा समेत स्पष्ट बहुमत पुग्ने र पुनर्गठनकै ‘स्पिरिट’अनुसार निर्णय कार्यान्वयन हुने दाबी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले निकट नेताहरूसँग गर्दै आएका छन् । 

छलफलअघि अध्ययन गर्दै कार्यदल सदस्य 
अध्यक्ष ओलीले पुनर्गठन कार्यदलको प्रतिवेदनलाई आफूअनुकूल हुने गरी मात्र छलफलमा लैजाने र निर्णय गराउने रणनीति लिइरहेका वेला कार्यदलका सदस्यहरूले भने प्रतिवेदन अहिले अध्ययनकै चरणमा रहेको बताएका छन् । केही दिनभित्र अध्ययन सकेर कार्यदलको बैठकबाट प्रतिवेदनलाई अन्तिम रूप दिई केन्द्रीय सचिवालयमा छलफलका लागि प्रस्तुत गर्ने तयारी रहेको कार्यदल सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले बताए ।

‘महासचिवले प्रतिवेदन तयार पारेपछि आवश्यक थपघट कार्यदल संयोजकले गर्ने भन्ने थियो । अहिले हामी कार्यदलका सदस्यहरू प्रतिवेदन अध्ययन गरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘प्रदेशहरूबाट आएका सुझाव बहस नोटअनुसार परेका छन् कि छैनन् भनेर हेरिरहेका छौँ । नपरेका सुझाव थपघटका लागि बैठकमा राख्छौँ । दुई–चार दिनमै अध्ययन सकेर भदौको पहिलो साताभित्रै कार्यदल बैठकबाट प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी छ ।’

इतर पक्षका नेता ठाकुर गैरेले पार्टी पुनर्गठन गर्नुपर्ने विषय आमपार्टीपंक्तिको साझा माग भएकाले त्यसलाई विधि र प्रक्रियासम्मत ढंगले टुंगोमा पुर्‍याउनुपर्ने बताए । ‘पार्टीलाई पुनर्गठन गर्नुपर्छ भन्ने कुरा आमपार्टीपंक्तिको साझा माग हो । त्यसैले यसलाई प्रक्रियासम्मत ढंगले अगाडि बढाएर निकास दिनुपर्छ,’ उनले भने ।

पुनर्गठनको सवालमा एमाले विधानमा के छ ? 
एमाले विधानको धारा १२ मा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बोलाउन सक्ने उल्लेख छ । विधानअनुसार राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू अर्को राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि निर्वाचित नभएसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य रहन्छन् । देशभरबाट पार्टी नीति, नेतृत्व र संगठन पुनर्गठनका लागि सुझाव आएकाले विधान महाधिवेशन वा नेतृत्व पुनर्गठनका लागि आवश्यक निर्णय गर्न विधानत : महाधिवेशन प्रतिनिधि परिषद् अधिवेशन गर्नुपर्ने हुन्छ । तर, त्यसका लागि केन्द्रीय कमिटी बैठकले नै निर्णय गर्नुपर्ने भएकाले ओली बहुमतको बलमा टार्ने रणनीतिमा छन् । परिषद्को बैठक दुई राष्ट्रिय महाधिवेशनको बिचमा सामान्यतया एकपटक आयोजना गर्न सक्ने विधानमा व्यवस्था छ । परिषद्ले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गरी पारित गर्ने र समग्र कामको समीक्षा गरी निर्देशन दिने विधानमा लेखिएको छ ।

ओलीको अभिव्यक्तिले इतर पक्षमा आक्रोशको पारो बढाउँदै 
अध्यक्ष ओलीले नेतृत्व पुनर्गठनको पक्षमा खुलेका नेता–कार्यकर्तालाई लक्षित गरी ‘आवारा’ र ‘किर्ना’जस्ता शब्दको प्रयोग गरेपछि इतर पक्षका नेता–कार्यकर्ता झन् आक्रोशित बनेका छन् । नेता ठाकुर गैरेले अध्यक्ष ओलीको अभिव्यक्तिले उनको कद घटाएको टिप्पणी गरे । ‘उहाँले जे–जस्ता अभिव्यक्ति दिइरहनुभएको छ, त्यसले राम्रो गरेको छैन, उहाँको कद झन्झन् घट्दै गएको छ,’ गैरेले भने ।

पार्टी पुनर्जागरण अभियान चलाइरहेका नेता गजेन्द्र थपलियाले पार्टी कार्यालय जाने, पार्टीको सवालमा चिन्ता लिने, गफ गर्ने कुरा पार्टीविरोधी नभएको बताए । ‘हामी सबैका लागि पार्टी कार्यालय आस्थाको धरोहर हो, त्यसैले पार्टी अफिस जाने, बसेर चिया खाने कुरा कसरी पार्टीविरोधी हुन्छ ? त्यसैले अध्यक्षले गलत सोचले अभिव्यक्ति दिनुभएकाले अहिले स्वस्फूर्त रूपमा देशमा मात्र नभएर विदेशमा पनि चिया खाने अभियान चलेको छ,’ थपलियाले भने ।

ओलीको बोलीको ‘साइडइफेक्ट’- एमाले कार्यालय सुनसान, क्यान्टिनमा पनि छैन चहलपहल 

बुधबार दिउँसो सुनसान देखिएको च्यासलस्थित एमाले मुख्यालयपरिसर (बायाँ) । ग्राहकविनाको क्यान्टिन (दायाँ) । गएको शनिबार गृहजिल्ला झापा पुगेका अध्यक्ष केपी ओलीले ‘आवारा र उरुन्ठेउलाहरू पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्छन्’ भनेर आक्रोश व्यक्त गरेका थिए ।  तस्बिर : संजित परियार/नयाँ पत्रिका

अध्यक्ष केपी ओलीले पार्टी कार्यालयआसपास भेला भएर छलफल गर्ने कार्यकर्तालाई ‘आवारा’को संज्ञा दिएपछि त्यसको असर केन्द्रीय कार्यालय च्यासलमा देखिन थालेको छ । राजधानी प्रदेश कमिटीका अध्यक्ष मिलन धरेल बुधबार मध्याह्न १२ बजेअघि केन्द्रीय कार्यालय च्यासल पुगेका थिए । अरू कोही देखेनन् र एक–डेढ घण्टा कार्यालयपरिसरतिरै टहलिए । 

केन्द्रीय कार्यालयमा अध्यक्षदेखि सबै पदाधिकारीको कार्यकक्षमा ताला झुन्डिरहेका थिए । नेताहरूको खासै उपस्थिति नदेखिएकै कारण आफू लामो समयदेखि परिसरतिरै टहलिएको अनुभव सुनाएर उनी बाहिरिए । 

पौने १ बजेसम्म मुस्लिम इत्तेहाद संघका नेता मोहम्मद हारुन अर्का एक पार्टीकै ‘कमरेड’लाई लिएर महासचिव शंकर पोखरेललाई भेट गर्ने पर्खाइमा थिए । अरू कार्यकर्ताको चहलपहल थिएन । 

कार्यालय खुलेदेखि मध्याह्नसम्म एमाले कार्यालयमा केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीबाहेक नेता प्रदीप ज्ञवाली, प्रचार विभाग प्रमुख नीरज आचार्य, संगठन विभागका सचिव आरसी लामिछाने र सीमित कर्मचारीहरू मात्रै भेटिए । 

एमाले अध्यक्ष ओलीले पार्टी कार्यालयको क्यान्टिनमा चिया खाने नेता–कार्यकर्तालाई आवाराको संज्ञा दिएपछि आक्रोशित पार्टी पुनर्गठन पक्षधर नेता–कार्यकर्ताले सामाजिक सञ्जालबाट सांकेतिक विरोधमा देशैभर ‘आवारा अभियान’ चलिरहेको दाबी गरेका छन् । तर, पार्टी कार्यालय भने भावशून्यजस्तै देखियो । 

केन्द्रीय कार्यालय सचिव डा. अधिकारीले कार्यक्रम नभएका कारण पार्टी कार्यालयमा नेता–कार्यकर्ताहरूको चहलपहल नदेखिएको अनुभव सुनाए । ‘चहलपहलै नदेखिएको भन्ने त होइन, कार्यक्रम नभएको दिन छिटपुट मात्रै कार्यकर्ताहरू आउनुहुन्छ,’ उनले भने, ‘कोही क्यान्टिनतिर त कोही कार्यकक्षतिर रहने भएकाले परिसर सुनसान भएको हुन सक्छ ।  

See More On

सुझावित समाचार