विस्थापित शिक्षकको झुटा विवरण बनाएर नियुक्ति, लमजुङका शिक्षक र पूर्वनिमित्त शिक्षा अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

झुटा विवरण पेस गरी शिक्षक सेवा आयोगको परीक्षामा सामेल भई नियुक्ति लिएको अभियोगमा लमजुङका एक शिक्षक र निमित्त शिक्षा अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन्दरबजार नगरपालिकास्थित आदर्श बाल माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नवराज केसी र जिल्ला शिक्षा कार्यालयका तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध बुधबार मुद्दा दायर गरेको हो।

अस्थायी विस्थापित शिक्षकलाई एकपटक आन्तरिक प्रतिस्पर्धा गर्न दिने भनी भएको नेपाल सरकारको निर्णयअनुसार आयोगले ०६१ मंसिर १५ गते विज्ञापन खुलाएको थियो। सोही वर्ष असार २ गते नै स्थायी प्राथमिक विद्यालय शिक्षकको नियुक्ति लिइसकेका केसीले माध्यमिक विद्यालय शिक्षकको परीक्षामा सामेल भई नियुक्ति लिएको आरोपपत्रमा उल्लेख छ।

केसीले पेस गरेको विस्थापित वा अस्थायी रूपमा कार्यरत रहेको व्यहोराको झुटा विवरण स्वीकृत गर्ने तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपानेलाई समेत भ्रष्टाचार मुद्दा दायर भएको हो।

सुझावित समाचार