सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन् । मुख्यमन्त्री भट्टले यथाशीघ्र मन्त्रिपरिषद्लाई पूर्णता दिएर चाँडो बजेट ल्याउने बताए । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले ल्याएको बजेट पारित नहुँदा सुदूरपश्चिम बजेट शून्यताको अवस्थामा छ ।
‘नीति आयोग गठन, सरकारलाई पूर्णता दिने, बजेटलाई छिटोभन्दा छिटो ल्याउने र प्रदेशलाई अहिलेको बजेट शून्यताको अवस्थाबाट मुक्त गर्नुपर्नेछ,’ मुख्यमन्त्री भट्टले भने, ‘जनजन र मनमन छुने बजेट ल्याउँछौँ ।’ सरकारमा मुख्यमन्त्री भट्टको दल नेकपाबाट मन्त्री नियुक्त हुन बाँकी छन् । एमालेबाट नियुक्त तीन मन्त्रीले गत शुक्रबार नै पदभार सम्हालिसकेका छन् । मुख्यमन्त्री भट्ट गत २९ साउनमा मुख्यमन्त्री बनेका थिए ।
यसअघि बुधबार प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा नेकपाका २० र एमालेका ११ गरी ३१ सदस्यले मतदान गरेका थिए । सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाका बहुमत सदस्यले पक्षमा मतदान गरेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत पाएको घोषणा गरे । प्रतिपक्षी कांग्रेसका १४ र राप्रपाका एक गरी १५ सांसदले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गरेका थिए । बैठकमा ४६ जना सांसद उपस्थित थिए । बैठकमा कांग्रेसका तीन सांसद अनुपस्थित रहे ।
मुख्यमन्त्री भट्टले प्रदेशको औचित्यमाथि उठाइएका प्रश्न र बनाइएका गलत भाष्यलाई चिर्ने गरेर काम गर्न सरकारसामु चुनौती रहेको बताएका छन् ।
कर्णालीमा तीन सातापछि मन्त्रिपरिषद् विस्तार
कर्णालीमा सरकार गठनको तीन सातापछि मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार संसद्बाट विश्वासको मत लिएपछि तीनजना मन्त्री नियुक्त गरेका हुन् । एमालेबाट टेकराज पछाई आर्थिक, जितबहादुर मल्ल सामाजिक र कमलबहादुर हमालले ऊर्जा मन्त्रालय पाएका हुन् । तर, मुख्यमन्त्री शाहीको दल नेकपाले मन्त्री छान्न सकेको छैन । बुधबार भएको सहमतिअनुसार नेकपाबाट पनि तीनजना मन्त्री बन्नेछन् ।
मुख्यमन्त्री शाहीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिनुअघि दुई दलले मन्त्रालय भागबन्डा गरेका थिए । त्यसपछि शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए । शाही एमालेको समर्थनमा गत १२ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।