चालू आर्थिक वर्ष ०८३/८४ को साउन महिनामा तीन अर्ब ७७ करोड रुपैयाँबराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा एक सय ९१ उद्योग तथा आयोजनामा लगानी सो रकमबराबरको प्रतिबद्धता आएको छ । गत आव ०८२/८३ को पहिलो महिनामा २४ अर्ब १० करोड ४९ लाखको प्रतिबद्धता आएको थियो ।
चालू आवको साउनमा सूचना प्रविधि (आइटी) क्षेत्रमा एक सय २८ उद्योग दर्ता भएका छन् भने पर्यटनमा ३३ उद्योग दर्ता भएका छन् । यी क्षेत्रबाट एक अर्ब ६३ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
गत वर्ष नेपालबाट चीनमा राँगाको मासु निर्यात गर्ने कम्पनी प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्रीका लागि सबैभन्दा ठुलो लगानी प्रतिबद्धता आएको थियो । एउटै परियोजनामा २० अर्ब ४५ करोडको प्रतिबद्धता आएको थियो । चालू आव भने ठुलो लगानी प्रतिबद्धता एउटा उद्योगमा मात्र आएको छ । मध्यमस्तरीय उद्योग दईवटा र अन्य सानो लगानीका उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।
साउनमा कुल एक सय २८ उद्योग आइटीमा दर्ता भएका छन् । ५६ करोड ९८ लाख रुपैयाँ मात्र प्रतिबद्धता आएको छ । संख्यात्मक हिसाबमा पर्यटन दोस्रो स्थानमा छ । पर्यटनका ३३ उद्योग दर्ता भएका छन् । जसमा कुल एक अर्ब ६३ करोड ७८ लाख रुपैयाँबराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।