- पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री खानलाई कम्तीमा एक महिनाका लागि अस्पताल स्थानान्तरण गर्न अनुमति दिएको छ
किस्तानको सर्वोच्च अदालतले देशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दल ‘पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)’का संस्थापक नेता इमरान खानलाई रावलपिन्डीको अदियाला जेलबाट इस्लामाबादको सिफा अन्तर्राष्ट्रिय अस्पतालमा दुई दिनभित्र स्थानान्तरण गर्न आदेश दिएको छ । खानको पार्टीले महिनौँदेखि गरेको माग अन्ततः अदालतले स्वीकार गरेको हो ।
खानका पक्षमा वकालत गरेका वकिलहरूमध्ये एक उजैर भण्डारीले बताएअनुसार मंगलबार तीनसदस्यीय इजलासले खानको उपचारको निरीक्षण गर्न एक मेडिकल बोर्ड गठन गर्न पनि आदेश दिएको छ । यसमा पूर्वप्रधानमन्त्री खानकी बहिनी डा. उज्मा खान र उनका व्यक्तिगत चिकित्सक डा. फैसल सुल्तान पनि समावेश हुनेछन् ।
‘अदालतले खानको परिवारलाई अस्पतालमा भेट्न र विदेशमा बस्ने उनका छोराहरूसँग कुरा गर्न अनुमति दिनसमेत निर्देशन दिएको छ,’ भण्डारीले भने । अब यस मुद्दामा अर्को सुनुवाइ सेप्टेम्बर १६ का लागि तय गरिएको छ । पछिल्लो आदेशअनुसार खान कम्तीमा त्यतिन्जेलसम्म अस्पतालमा भर्ना हुन सक्ने वकिलले मिडियालाई बताएका छन् ।
अगस्ट २०२३ मा जेल परेदेखि नै खान र उनको पार्टीले उनी राजनीतिक प्रतिशोधको सिकार भएको दाबी गर्दै आएका छन् । उनलाई कैयौँ भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा दोषी ठहर गरिएको छ । तथापि, जेलमा अरूबाट अलग एक्लो राखिएको र स्वास्थ्य अवस्थालाई नियमित निगरानी गर्न नदिइएको कारण उनको शारीरिक अवस्था कमजोर भएको उनको परिवार सदस्य र पार्टीले आरोप लगाउँदै आएको छ ।
अदियाला जेलका सुपरिटेन्डेन्टले सोमबार अदालतमा पेस गरेको प्रतिवेदनपछि सर्वोच्च अदालतको आदेश आएको हो । प्रतिवदेनमा ७३ वर्षीय खानको मुटुसम्बन्धी अगस्ट १० को परीक्षण विवरण उल्लेख थियो, जसमा उनमा रक्तचाप नियमित घटबढ भइरहेको र एन्जाइटी देखिएको उल्लेख छ । खानलाई जेलमा अलग राखिएको र परिवारिक भेटमा पनि बन्देज लगाइएकाले एन्जाइटी देखिएको परिवार स्रोतले जनाएको छ ।
मंगलबारको सुनुवाइको क्रममा, अदालतले पाकिस्तानका महान्याधिवक्तालाई मेडिकल रिपोर्टमा केही जानकारी नरहेको उल्लेख गर्दै ‘खानको नाडी र मुटुको अवस्था सामान्य नभएको’ र ‘उपचारमा लापरबाहीले उनका शरीरका महत्वपूर्ण अंगहरूमा पनि असर देखिन थालेको आरोप लगाएको छ ।’ उसो त यसअघि पनि खानको परिवारले उनलाई अस्पताल सार्नुपर्ने माग राखेको थियो । फेब्रुअरीदेखि यता मात्रै अदालतहरूले यस्तो स्थानान्तरण अनुरोध दुईपटक अस्वीकार गरिसकेको थियो ।
पिटिआईका एक वरिष्ठ नेता जुल्फी बुखारीले मिडियासँग बोल्दै फैसलाले पार्टीको लामो समयदेखि भन्दै आएको ‘खानलाई आदियाला जेलबाहिर स्वतन्त्र, विशेष उपचार आवश्यक रहेको’ अडान पुष्टि भएको बताए । ‘कारागार प्रणालीभित्र प्रदान गरिएको चिकित्सा हेरचाह उनको रोजाइको स्वतन्त्र विशेषज्ञहरूद्वारा गरिने गहन मूल्यांकनको विकल्प हुन सक्दैन,’ बुखारीले भने । पिटिआईले खानलाई सिफा अन्तर्राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्न र उनका आफ्नै डाक्टरहरूको निगरानीमाउ प्रचार हुनुपर्ने पहिलेदेखि माग गरेको पनि बुखारीले बताए ।
सरकारी अधिकारीहरूले भने कुनै कैदीलाई जेलबाट अस्पताल सार्न देशको कार्यकारीको निर्देशनभन्दा न्यायिक फैसला आवश्यक पर्ने बताउँदै आएका थिए । पाकिस्तानका प्रधानमन्त्री सेबाज सरिफका सल्लाहकार राणा सनाउल्लाहले अदालतको फैसलाअघि सोमबार सिनेटमा यस विषयमा बोल्दै खानले जेलभित्र ‘उपलब्ध उत्तम चिकित्सा उपचार’ पाइरहेका बताएका थिए । साथै, प्रधानमन्त्रीका सल्लाहकारले खानको अवस्था पिटिआईले भनेजस्तो चिन्ताजनक नभएको पनि बताएका थिए ।
पछिल्लो फैसला जेलभित्र खानको पहुँचमा गरिएको कडाइको विषयमा पिटिआईले विरोध गरिरहेको समयमा आएको छ । पिटिआईले खानको अस्पताललाई स्थानान्तरणलाई सरकारसँग वार्ता पुनर्जीवित गर्ने सर्तको रूपमा प्रस्तुत गर्दै आएको छ । त्यस्तै, पिटिआई नेतृत्वले खानको उचित उपचारदेखि अन्य विभिन्न मुद्दामा सेप्टेम्बर २७ देखि देशव्यापी विरोध सुरु गर्ने घोषणा गरेको छ ।
पिटिआईको आगामी चाल
पछिल्लो फैसलापछि पिटिआईले आफ्ना समर्थकहरूलाई सिफा अन्तर्राष्ट्रिय अस्पतालबाहिर भेला नहुन आग्रह गरेको छ । खानको उपचारको क्रममा अस्पतालवरिपरि ‘शान्तिपूर्ण वातावरण’ प्रदान गरिदिन एक विज्ञप्ति जारी गर्दै पार्टीले सबै समर्थक तथा शुभचिन्तकलाई आह्वान गरेको छ । इमरान खानकी बहिनीहरूमध्ये एक अलिमा खानले मंगलबारको फैसलापछि अदालतबाहिर पत्रकारहरूसँग बोल्दै परिवारले बेन्चलाई मुद्दाको सार सार्वजनिक रूपमा छलफल नगर्ने आश्वासन दिएको पनि बताइन् । उनका अनुसार यो सुनुवाइसँग जोडिएको सर्त हो ।
‘एक समय यस्तो आएको थियो, जब हामी पूर्ण रूपमा निराश भएका थियौँ,’ खानकी बहिनी अलिमाले भनिन्, ‘तर त्यही अवस्थामा, भगवान्ले हाम्रा लागि न्यायको बाटो खोलिदिनुभएको छ ।’ मंगलबारको अदालतको आदेशपछि, पिटिआईका प्रवक्ता सेख वकास अकरमले सेप्टेम्बर २७ मार्चको पूर्वघोषित विरोधको तयारी ‘जारी रहने’ बताएका छन् । ‘इमरानले हामीलाई न्याय र कानुनको शासनका लागि प्रयासमा लागि पर्न निर्देशन दिएका छन् । त्यो हाम्रो वृहत्तर लक्ष्य हो, र हामी विरोधको तयारी जारी राख्नेछौँ,’ पार्टी प्रवक्ता अकरमले भने ।
सरकारले अदालतको आदेश पालना गरेमा र सन् २०२४ को चुनावमा आफूहरूको ‘मतादेश चोरिएको’बारे खुला वाचा गरे मात्र पार्टीले भावी कदमबारे पुनर्विचार गर्ने प्रवक्ता अकरमले बताए । ‘यदि उनीहरूले त्यसो गरेनन् भने, हामीसँग हाम्रो र्यालीलाई जारी राख्नुबाहेक अरू विकल्प रहछैन,’ अकरमले भने । उता खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री तथा वरिष्ठ पिटिआई नेता सोहेल अफ्रिदीले सामाजिक सञ्जाल एक्समा लेख्दै अदालतको आदेशलाई ‘न्यायमा आधारित, प्रशंसनीय निर्णय’ भने । साथै, उनले पिटिआईले खानको स्वास्थ्यमा ‘कुनै राजनीति नगर्ने’ पनि बताए ।
सम्बन्ध सुधारको संकेत ?
केही विश्लेषकहरूले मंगलबारको फैसलालाई सरकार र पाकिस्तानको प्रमुख विपक्षी दलबिच मेलमिलापको संकेतका रूपमा हेरेका छन् । ‘विगतमा, सम्झौताको बारेमा धेरै हल्ला भए, तर केही प्रतिफल भएन । तर, यसपटक, पिटिआईसँग सम्भावित सम्बन्ध सुधारका केही संकेतहरू देखिएका छन्,’ लाहोरस्थित राजनीतिक विश्लेषक बेनजिर शाहले भनिन्, ‘बलुचिस्तान प्रान्तमा सुरक्षा चुनौती बढ्दै गएको र आजाद जम्मू–कस्मिर(पाकिस्तान प्रशासित जम्मु–कस्मिर)मा विरोध प्रदर्शनहरू भइरहेको वेला, राजधानीमा पिटिआईसँगको आन्दोलन सुरु भए सरकारलाई कठिन होला भनेर पनि त्यस्तो तयारी भएको होला ।’
क्षेत्रफलको हिसाबले पाकिस्तानको सबैभन्दा ठुलो र सबैभन्दा कम जनसंख्या भएको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा यसै वर्ष सयौँ पृथकतावदी आक्रमण भए । पाकिस्तान–प्रशासित कस्मिरमा पनि अधिकारीहरूले चुनावी र आर्थिक सुधारको माग गर्दै नागरिक समाज गठबन्धनलाई प्रतिबन्ध लगाएपछि महिनौँदेखि अशान्ति देखिएको छ । गत महिना भएको क्षेत्रीय चुनावको वेला भएको हिंसाले दर्जनौँ मानिसहरूको ज्यान लियो ।
तर, शाहले सम्बन्ध सुधारको संकेतमा बढी आशावादी नहुन चेतावनी दिँदै कुनै पनि मेलमिलाप खासमा इमरान खान आफैँमा निर्भर हुने बताए । ‘उनी पिटिआईको मूल व्यक्तित्व बनेका छन् । पार्टीसँगको कुनै पनि सरकारको सम्झौताका लागि अन्ततः उनको स्वीकृति आवश्यक पर्नेछ,’ उनले भनिन्, ‘यदि उनलाई अस्पताल सारियो र अन्य पार्टी नेताहरूसँग बढी पहुँच दिइयो भने बल्ल त्यसपछि मात्र उनी विद्यमान राजनीतिक र सैन्य सेटअपमा संलग्न हुन तयार छन् कि छैनन् भन्ने स्पष्ट हुनेछ ।’
(हुसेन कराँचीमा बसेर राजनीति, विदेश नीति, सुरक्षा मुद्दा, मानव अधिकारदेखि संस्कृतिसम्मका मुद्दामा कलम चलाउँछन् )
अलजजिराबाट