बागमतीको मुख्यमन्त्रीमा थापालाई अघि सार्ने एमाले निर्णय

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

एमालेले बागमती प्रदेश मुख्यमन्त्रीमा नेता किरण थापालाई अघि सार्ने निर्णय गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलको मंगलबार हेटौँडामा बसेको बैठकले थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने र दलका नेता जगन्नाथ थपलियालाई सोही पदमा यथावत् राख्ने निर्णय गरेको हो ।

उनी एमाले अध्यक्ष ओली र सविच महेश बस्नेतका विश्वासपात्र हुन् । यसअघि नेता थपलियाविरुद्ध थापा समूहले अविश्वासको प्रस्तावसमेत दर्ता गराएको थियो । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक देवकाटोले सोही दिन नै नयाँ सरकार गठनको आह्वान गरिसकेका छन् ।

प्रदेश प्रमुखले दिएको समयसीमा बिहीबार अपराह्न सकिँदै छ । थापाले सरकार गठनको प्रक्रिया छिट्टै अघि बढ्ने बताए । ‘हामी राप्रपा, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टीलगायत सबै दलसँग संवाद गरेर सकेसम्म छिटो सरकार गठन गर्छौँ,’ उनले भने । संसदीय दलका नेता थपलियाले पार्टीको निर्देशनअनुसार आफूले थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेको बताए । 

सुझावित समाचार