- युइएफएमा लामो समय काम गरेर दुई वर्षअघि सिइओ बनेका केभिनले अध्यक्ष इन्फान्टिनोले आफूलाई फिफाको मालिक ठान्ने गरेको भन्दै आलोचना गरेका थिए
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद निजी कम्पनीलाई विश्वकपको सेयर प्रदान गर्ने योजनाविरुद्ध आलोचना गरेका फिफाकै सिइओ केभिन लामौर बर्खास्तीमा परेका छन् । तीन साताअघि इन्फान्टिनोले विश्वकप फुटबल प्रतियोगिताको २१ प्रतिशत सेयर निजी कम्पनीलाई दिने घोषणा गरेका थिए । युइएफएमा लामो समय काम गरेर दुई वर्षअघि मात्र फिफामा आएका केभिनले इन्फान्टिनोको योजनाप्रति कडा आपत्ति जनाएका थिए ।
उनले अध्यक्ष इन्फान्टिनोले आफूलाई फिफाको मालिक ठान्ने गरेको भन्दै आलोचना गरेका थिए । विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले मंगलबार केभिनलाई बर्खास्ती गरेको जनाएको छ ।
फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले कर्मचारीलाई इमेल पठाउँदै केभिनले संस्था छाडेको जानकारी दिए । फिफाले सिइओको दुई वर्ष कार्यकालका लागि धन्यवाद दिँदै केभिनको भविष्यका लागि शुभकामना दिएको छ ।
यद्यपि, उनलाई हटाउनुको कारणबारे फिफाले थप केही बोलेको छैन । फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारी तथा फिफा काउन्सिलका सदस्यलाई पठाएको सन्देशमा संस्था र केभिनले आपसी सहमतिमा अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । तीन साताअघि केभिनले एक व्यक्तिको परियोजनाले फिफाको प्रशासन र आर्थिक पक्ष ध्वस्त हुन सक्ने बताएका थिए । एफएफईमार्फत विश्वकपसहित फिफाका सबै प्रतियोगिताको व्यावसायिक तथा टिकट बिक्री अधिकार व्यवस्थापन गर्ने र कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारिएको थियो ।
युरोपेली फुटबल महासंघ (युइएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कनकाकाफ) र एसियाली फुटबल महासंघ (एएफसी)ले इन्फान्टिनोको योजनाको चर्को विरोध गरेका थिए । त्यसपछि इन्फान्टिनोले आफ्नो योजना तत्काल स्थगित गरे । यद्यपि, इन्फान्टिनोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आइरहेका छन् । ट्रम्पले इन्फान्टिनोलाई फिफाका कुशल अध्यक्षका रूपमा बयान गरेका छन् । ‘फिफा अध्यक्षको योजनाले विश्व फुटबल अहिलेको भन्दा माथि उठनेछ,’ ट्रम्पले भनेका थिए, ‘उनीविना फिफा अगाडि बढ्न गाह्रो छ ।’
इन्फान्टिनो एक्लै हिँडिरहेको आरोप
बर्खास्तमा परेका सिइओ केभिनले वर्तमान समयमा आफ्नै अध्यक्ष इन्फान्टिनो एक्लै हिँडिरहेको आरोप लगाएका छन् । फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थको पछाडि इन्फान्टिनो लागेको केभिनको भनाइ छ । ‘फिफाको प्रशासनमा कार्यरत सयौँ कर्मचारी फुटबलको सेवामा समर्पित छन् ।
अध्यक्षले सबैलाई एकताबद्ध गर्नुपर्नेमा अहिले त्यसको ठिक विपरीत अवस्था देखिएको छ,’ केभिनले भने, ‘सहकर्मीप्रतिको सम्मान हुनुपर्छ, तर यसका विपरीत काम भइरहेको छ ।’ केभिनले फुटबल हितविपरीत हुने कार्यमा आफू संलग्न नहुने प्रस्ट पारेका छन् । ‘हामी सबै विश्व फुटबलको विकासमा लागेका छौँ । यसको विपरीत जाने व्यक्तिविरुद्ध आवाज उठाउँछौँ । यसले मेरो जागिर गए पनि त्यसलाई स्वीकार गरिनेछ ।’
निर्वाचनको दबाब झेल्दै अध्यक्ष
आगामी मार्चमा फिफाको निर्वाचन हुँदै छ । त्यसमा इन्फान्टिनो पुन: एकपटक अध्यक्षमा उठ्ने योजना बनाएका छन् । अघिल्लो निर्वाचनमा उनलाई युरोप तथा उत्तर अमेरिकाले साथ दिएका थिए । यसपटक उनीहरूले इन्फान्टिनोलाई साथ नदिने घोषणा गरेका छन् । युइएफए र कनकाकाफले आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा इन्फान्टिनोलाई दिँदै आएको समर्थनसमेत फिर्ता लिएका छन् ।
इन्फान्टिनो चौथोपटक फिफा अध्यक्ष बन्ने तयारीमा छन् । उनलाई अफ्रिका, दक्षिण अमेरिका र ओसियानाका फुटबल महासंघले उनको उम्मेदवारीलाई समर्थन गरेका छन् । मेक्सिकोसहित कनकाकाफका केही सदस्य राष्ट्रले भने आफ्नै महासंघको निर्णयविपरीत इन्फान्टिनोलाई समर्थन गरेका छन् । बेलायतका फुटबल संघहरू पनि इन्फान्टिनोको समर्थनबाट पछि हटेका छन् । इंग्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र आयरल्यान्डले पनि समर्थन फिर्ता लिइसकेका छन् ।