भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १२ वटा भारतीय इलेक्ट्रिक स्कुटर पर्साबाट नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ १ गते अपराह्न करिब ४ बजे वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार प्रक्रिया पूरा नगरी नेपाल ल्याएर अनधिकृत रूपमा सञ्चालन गरिरहेका स्कुटर नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका १२ वटा स्कुटरको अनुमानित मूल्य ९ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका स्कुटर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न निगरानी बढाइएको प्रहरीले जनाएको छ। स्कुटरको ओसारपसारमा संलग्न व्यक्तिबारे समेत थप अनुसन्धान भइरहेको जनाइएको छ।