पूर्व–पश्चिम राजमार्ग हुँदै बिलबिजकविनाका तथा भन्सार छलीका सामान अवैध रूपमा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ठुलो परिमाणमा सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट खटिएको प्रहरी चेकिङ टोलीले भदौ १ गते राति करिब १२:३० बजे कावासोती नगरपालिका– ८ स्थित फलफूल चोकमा सवारीसाधन जाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ नारायणगढ जाँदै गरेको ना.३ ख ४६७२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ट्रकभित्र लुकाइछिपाई राखिएको बिलबिजक नभएका विभिन्न सामान बरामद गरिएको छ। बरामद सामानमा दुई हजार १६० थान विभिन्न रंगका कुर्ता–सुरुवाल, एक हजार पाँच सय थान साडी तथा ५४० थान काँचो कपडा रहेका छन्।
प्रहरीले बरामद सामानको कुल मूल्य ६२ लाख ५० हजार पाँच सय रुपैयाँ रहेको जनाएको छ। नियन्त्रणमा लिइएको सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घटनाबारे थप आवश्यक प्रक्रिया भन्सार कार्यालयबाट अघि बढाइनेछ।