नेपाली नियोगमा स्थानीय कर्मचारी नियुक्ति निर्देशिकाअनुसार हुन्छ : परराष्ट्रमन्त्री खनाल

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको जानकारी दिएका छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा ३७४ जना स्थानीय कर्मचारी कार्यरत छन्। तीमध्ये १८५ जना नेपाली नागरिक र १२६ जना विदेशी नागरिक रहेका छन्। 

प्रतिनिधिसभामा सोमबार सांसद निस्कल राईले विदेशस्थित नेपाली नियोगमा कार्यरत नेपाली तथा विदेशी स्थानीय कर्मचारीको संख्या र त्यसबाट राज्यलाई परेको आर्थिक भारबारे सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले स्थानीय कर्मचारी नियुक्ति विश्वव्यापी अभ्यासअनुसार नै हुँदै आएको बताए।

मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा कूटनीतिक कर्मचारीलाई दैनिक प्रशासनिक, कन्सुलरलगायतका काममा सहयोग गर्न स्थानीयस्तरमा उपलब्ध जनशक्तिलाई करारमा नियुक्त गर्ने गरिएको छ। नेपालबाट थप कर्मचारी पठाउनुभन्दा स्थानीय कर्मचारी नियुक्त गर्दा आर्थिक रूपमा मितव्ययी हुनुका साथै काममा सहजता र प्रशासनिक तथा कूटनीतिक दृष्टिले पनि व्यावहारिक हुने उनको भनाइ छ।

‘स्थानीय भाषा, कानुन तथा कार्यसंस्कृति बुझेका कर्मचारीबाट कामकाज गर्न र गराउन सहज तथा प्रभावकारी हुने भएकाले ती पदमा स्थानीयस्तरमै पदपूर्ति गर्ने गरिएको छ,’ मन्त्री खनालले भने। 

नियोगको कार्यप्रकृति र कार्यबोझअनुसार अफिस सेक्रेटरी, लिगल एडभाइजर, ड्राइभर, मेसेन्जर, ट्रान्सलेटर, गार्डनर, सुरक्षागार्ड तथा अफिस असिस्टेन्टलगायतका पदमा स्थानीय कर्मचारी नियुक्त हुने गरेका छन्।

मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारीका लागि ३७४ दरबन्दी स्वीकृत रहेकोमा हाल १२६ पदमा विदेशी नागरिक र १८५ पदमा नेपाली नागरिक कार्यरत छन्। केही पद राजदूत नियुक्त भएपछि पूर्ति हुने र राजदूत फिर्ता भएसँगै रिक्त हुने भएकाले सबै दरबन्दीमा एकैपटक कर्मचारी कार्यरत नरहेको उनले स्पष्ट पारे।

स्थानीय कर्मचारीको तलबमा आर्थिक वर्ष ०८२/८३ मा ९१ करोड १७ लाख ३८ हजार रुपैयाँ खर्च भएको पनि मन्त्री खनालले जानकारी दिए। उनले नेपाली नियोगमा स्थानीय कर्मचारीको संख्या नेपालजस्तै ठुलो डायस्पोरा भएका अन्य मुलुकको तुलनामा निकै कम रहेको बताए।

सुझावित समाचार