आइएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका कार्यक्रम

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको नवौँ वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरी मनाएको छ। कम्पनीले वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने रक्तदान, वृक्षरोपण, खाद्यान्न वितरण तथा बिमा सचेतनालगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। साथै देशभर रहेका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षरोपण, खाद्यान्न वितरण तथा बिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमले समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बिमाको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको बताए। उनका अनुसार रक्तदान कार्यक्रमले अस्पतालमा हुने रगतको अभाव न्यूनीकरणमा सहयोग पुर्याउने, वृक्षरोपणले वातावरण संरक्षणमा योगदान गर्ने र खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई प्रत्यक्ष राहत दिनेछ।

यसैबिच, वार्षिकोत्सवकै अवसरमा आइएमई लाइफ इन्स्योरेन्सले राष्ट्रिय आविष्कार केन्द्र (नेसनल इनोभेसन सेन्टर–एनआइसी)सँग सहकार्य सम्झौता गरेको छ। सम्झौताले दुवै संस्थाबिच दीर्घकालीन साझेदारीको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले बताए।

सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान गरी उत्पादन गरेको ‘न्यानो नानी’ (बेबी वार्मर) उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ। समय नपुगी वा कम तौल भएर जन्मिएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराई उनीहरूको जीवन जोगाउन प्रयोग हुने उक्त उपकरण दुर्गम तथा स्वास्थ्य सुविधा सीमित रहेका क्षेत्रमा विशेष उपयोगी हुने बताइएको छ।

सहकार्यको पहिलो चरणमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ उपकरण हस्तान्तरण गर्ने भएको छ। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र न्यून पहुँचका कारण ती क्षेत्रका नवजात शिशुले लामो समयदेखि स्वास्थ्य सेवाको अभाव झेल्दै आएको भन्दै कम्पनीले उक्त समस्या सम्बोधन गर्ने उद्देश्यले पहल अघि बढाएको जनाएको छ।

कम्पनीका अनुसार उपकरणहरू सम्बन्धित स्थानीय स्वास्थ्य संस्था तथा उपयुक्त स्थानमा जडान गरिनेछन्। यसबाट दुर्गम क्षेत्रका नवजात शिशुको मृत्युदर घटाउन तथा आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत खड्काले कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) नीतिअन्तर्गत यसअघि पनि सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको बताए। आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत क्रमशः विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

जीवन बिमाबारे जनचेतना अभिवृद्धि गर्ने, बिमा सेवामार्फत ग्राहकको वित्तीय सुरक्षा बढाउने तथा मुलुकको समग्र विकासमा योगदान पुर्याउने दीर्घकालीन सोचका साथ कम्पनीले आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ। स्थापनाको नौ वर्षमा सर्वसुलभ पहुँच, छिटोछरितो दाबी भुक्तानी तथा व्यवसायअनुकूल सेवामार्फत ग्राहकको विश्वास हासिल गर्दै आएको कम्पनीको दाबी छ। देशभर फैलिएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत गुणस्तरीय बिमा सेवा सर्वसाधारणसम्म पुर्याउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्याएको छ।

सुझावित समाचार