उत्पादन परिमाण र क्षेत्रफलको हिसाबले सबैभन्दा बढी आँप उत्पादन हुने सिराहामा आँप व्यवसायीहरूले आँप फल्ने मौसममा जिल्लाका विभिन्न स्थानीय तहलाई पायक पर्ने गरी थोक बिक्रीस्थल तोकिदिन माग गरेका छन् ।
जिल्लाका विभिन्न भागमा छरिएर रहेका आँप व्यवसायीको संगठन आँप व्यवसाय संघको गोलबजारमा सम्पन्न बृहत् भेलाले आँपको बिक्रीका लागि व्यवस्थित थोकस्थल तयार गरिदिन प्रदेश र संघीय सरकारलाई गुहारेका हुन् । व्यापारीहरूले किसानको बगैँचाबाट आँप टिपेर सोझै तोकिएको बिक्रीस्थलसम्म ल्याउँदा आँपको ढुवानीमा लाग्ने रकम घट्नेसँगै फुट्ने जोखिम कम हुने र त्यसले व्यापारी तथा किसान दुवैलाई फाइदा हुने संघका अध्यक्ष जगदीश यादवले बताए ।
‘बिक्रीस्थलसम्म ल्याउँदा जति न्यून क्षति भयो, त्यति फाइदा हुन्छ,’ उनले भने, ‘व्यापारीले कबाेल गरेको ठेक्का रकमअनुसार बिक्री गर्न सकियो भने किसानले पनि वेलैमा भुक्तानी पाउने भएकाले दुवै पक्षलाई फाइदा हुन्छ ।’ संघका महासचिव विजयकुमार रामका अनुसार आँपको खुद्रा व्यापारले स्थानीय हाटबजार अव्यवस्थित हुनुका साथै नोक्सानीको जोखिम पनि बढी हुने भएकाले थोक बिक्री केन्द्रको माग गरिएको हो । त्यसका लागि स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकार जिम्मेबार बन्नुपर्ने उनले बताए ।
‘बगैँचा खनजोतमा साझेदारी’
पछिल्लो आँपको सिजनदेखि डिजेलमा भएको मूल्यवृद्धिको कारणले बगैँचा ठेक्का लिएका व्यवसायीको स्वयं लगानीमा गर्दै आएको खनजोत आउने मौसममा आर्थिक रूपले नसक्ने अवस्थामा पुगेको उनीहरूको गुनासो छ । बगैँचा लगाएका सम्बन्धित किसानले नै खनजोत गर्नुपर्ने, त्यति गर्न नसक्ने हो भने पनि ट्याक्टर लगाएर जोत्दा कम्तीमा ५० प्रतिशत लागत साझेदारी गर्नुपर्ने आफूहरूको अडान रहेको कोषाध्यक्ष सन्तोष पूर्वेले बताए ।
प्रायः हरेक वर्ष माघ महिनादेखि आँप फुल्न थालेदेखि नै व्यापारीहरूले सम्बन्धित किसानसँग लिखित, मौखिक करार सम्झौता गरी सिंंगो बगैँचा नै ठेक्का लिएर खनजोत, सिँचाइ, हेरचाहलगायतका काम गर्दै आएको उनले बताए । ‘इन्धनमा भएको चर्को मूल्यवृद्धिले विगतमा जोताइमा पाँच हजार लाग्ने बगैँचामा दोब्बर बढी १० हजारसम्म लाग्छ,’ उनले भने, ‘आँप टिपेपछि अन्यत्र निकासी गर्दा ढुवानी खर्च पनि बढेकाले व्यापारीहरू पनि आर्थिक समस्यामा परेका छन् ।’
१० हजार हेक्टरमा आँपखेती
कृषि ज्ञान केन्द्र सिराहाका अनुसार विशेषगरी पूर्व–पश्चिम लोकमार्गदेखि उत्तर कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लहान क्षेत्रमा गरी १० हजार ५० हेक्टर जग्गामा आँप बगैँचा रहेको छ । ‘त्यसमध्ये नौ हजार ५० हेक्टर क्षेत्रफलमा आँप उत्पदान भइरहेको छ,’ केन्द्रका सूचना अधिकारी सुदीप खनालले भने ।
उनका अनुसार पछिल्लो आर्थिक वर्ष ०८२/८३ मा जिल्लामा ७२ हजार चार सय मेट्रिक टन आँप उत्पादन भएको थियो । उनका अनुसार सिराहामा उत्पादन गरिएको आँप संघीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न मुख्य सहरहरूमा बिक्रीका लागि पठाउने गरिन्छ ।
वर्षको एकपल्ट मिहिनेत गर्दा राम्रो आम्दानी हुने भएकाले मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०८३/८४ मा आँपखेतीको प्रवर्द्धन र विस्तारका लागि आँपको नयाँ बगैँचा स्थापना, पुरानो बगैँचा व्यवस्थापन र स्तरोन्नति, आँपको नर्सरी स्थापना र पूर्व–पश्चिम लोकमार्ग क्षेत्र हुँदै ओहोरदोहोर गर्नेहरूलाई लक्षित गरी भौतिक संरचना निर्माण गरी आँप बिक्रीका लागि कोसेली घर सञ्चालन गर्ने कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ ।