जाजरकोटको बाढी–पहिरो प्रभावित क्षेत्रमा सडक नखुल्दा तीन दिनदेखि राहत सामग्री जिल्ला प्रशासनमै थन्किएको छ। भेरी नगरपालिका २ रिसाङ जाने करिब ८ किलोमिटर सडक नखुलेपछि जिल्ला सदरमुकाम खलङ्गामा राहत सामग्री थन्किएको हो ।
सोमबार जिल्ला विपद् व्यवस्थापन समितिले अवरुद्ध सडक सडक डिभिजन कार्यालय चौरजहारीमार्फत खुलाउने निर्णय गरेको थियो। अहिलेसम्म सम्बन्धित निकायले प्रभावकारी चासो नदेखाएको भेरी नगरपालिका–२ का वडा अध्यक्ष भीमबहादुर कार्कीले बताए।
कार्कीका अनुसार भेरी नगरपालिका–२ स्थित माथिल्लो भागमा अहिलेसम्म सरकारी उपस्थिति पुगेको छैन। सडक अवरुद्ध भएपछि प्रभावित बस्तीमा पुग्न तीनरचार घण्टा पैदल हिँडेर जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको उनले बताए। ‘राहत सामग्री प्रशासनमा छ, तर सडक नखुलेपछि पीडितसम्म पुर्याउन सकिएको छैन,’ उनले भने।
सडक अवरुद्ध हुँदा विपद्को प्रत्यक्ष मारमा परेका नागरिक थप समस्यामा परेका छन्। पहिरोबाट घरबास गुमाएका परिवार सुरक्षित स्थानमा पुगे पनि खाद्यान्न, खानेपानी, औषधि र अन्य अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका छन्। सडक नहुँदा राहत बोकेर जाने कर्मचारी, जनप्रतिनिधि तथा उद्धार टोलीलाई समेत प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।
भेरी नगरपालिका–२ रिसाङमा शनिबार गएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। पहिरोका कारण सयौँ नागरिक विस्थापित भएका छन्।उनीहरूलाई विभिन्न अस्थायी आश्रय केन्द्रमा राखिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले मौज्दात रहेका त्रिपाल, टेन्ट, पिफर्मलगायत सामग्री तत्काल उपलब्ध गराएको थियो। भेरी नगरपालिकाले चाउचाउ, बिस्कुट र फ्रुटीलगायत तत्काल खानेकुरा वितरण गरेको थियो। तर प्रदेश सरकारबाट पठाइएको थप राहत सामग्री सडक अवरुद्ध भएका कारण प्रभावित नागरिकसम्म समयमै पुग्न सकेको छैन।
सोमबार बिहान चामल र दाल वितरण भएपछि मात्रै तीन दिनपछि पेटभरि खाना खान पाएको विस्थापित दलबहादुर कामीले बताए। विपद्को अवस्थामा समेत तीन दिनसम्म नियमित खाद्यान्नको अभाव हुनु राज्यको राहत व्यवस्थापनमाथि गम्भीर प्रश्न बनेको छ ।
भेरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख यज्ञ गौतमका अनुसार नगरपालिकाले क्षतिको प्रारम्भिक तथ्याङ्क संकलनको काम सुरु गर्ने तयारी गरेको छ। राहत तथा पुनःस्थापनाका लागि विभिन्न दातृ निकायलाई आह्वान गरिएको उनले बताए। सडक सञ्चालनमा नआएकाले तत्काल आवश्यक सामग्री पैदलमार्गबाट प्रभावित क्षेत्रमा पुर्याउने प्रयास भइरहेको र थप राहत सामग्री प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ ।
नगरपालिकाले प्रारम्भिक विवरण अनुसार भेरी नगरपालिका–२ मा ११ घर र एउटा कुटानी–पिसानी मिल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। भेरी–३ मा तीनवटा र भेरी–१ मा एउटा घर पूर्ण रूपमा क्षति भएको प्रारम्भिक तथ्याङ्क छ । बाढी–पहिरोका कारण विस्थापित नागरिकलाई विभिन्न अस्थायी आश्रय केन्द्रमा राखिएको छ। त्रिभुवन आधारभूत विद्यालयमा ६९१ जना, विष्णु प्राथमिक विद्यालय दार्नेटामा ४५ जना, स्याला विजय प्राथमिक विद्यालयमा २७ जना र महिला आश्रम तल्लो थाप्लेमा १७ जना गरी कुल ७८० जना नागरिक अस्थायी आश्रय केन्द्रमा रहेका छन्।
यता, बाढी–पहिरोले सदरमुकाम आसपासका बस्तीको दैनिक जनजीवनसमेत प्रभावित बनाएको छ। खानेपानीका संरचनामा क्षति पुगेपछि विभिन्न बस्तीमा खानेपानीको अभाव चर्किएको छ भने ग्यासको अभावले घर–घरको भान्सा प्रभावित बन्न थालेको छ।
दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिक, विद्यार्थी तथा सर्वसाधारणसमेत यसको प्रत्यक्ष मारमा परेका छन्। प्राकृतिक विपत्तिमा परेका नागरिकले एकातिर घरबास र सम्पत्ति गुमाएका छन् भने अर्कोतिर राहत तथा अत्यावश्यक सेवाका लागि समेत संघर्ष गर्नुपर्ने अवस्था आएको छ। सडक नखुल्दा तीन–चार घण्टा पैदल हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। वर्षा अझै जारी रहेकाले पैदलमार्गसमेत जोखिमपूर्ण बन्दै गएको स्थानीयको भनाइ छ।
पीडितका लागि आएको राहत सामग्री प्रशासनमा थन्किएको छ तर पीडित नागरिक भने राहतको प्रतीक्षामा छन्। विपद्को समयमा सडक अवरुद्ध हुनु स्वाभाविक चुनौती भए पनि वैकल्पिक ढुवानी,पैदलमार्ग व्यवस्थापन, सुरक्षा टोली परिचालन र आवश्यक परे अन्य माध्यमबाट राहत पुर्याउने जिम्मेवारी राज्य संयन्त्रकै हो।
सोमबार सडक खुलाउने निर्णय भए पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुनु र प्रभावित क्षेत्रमा सरकारी उपस्थिति कमजोर देखिनुले विपद् व्यवस्थापनको तयारी र समन्वयमाथि स्थानीयले प्रश्न उठाएको छ। वडा अध्यक्ष कार्कीले सम्बन्धित निकायलाई तत्काल प्रभावित क्षेत्रमा पुगेर सडक खुलाउने र राहत वितरणको व्यवस्था मिलाउन आग्रह गरेका छन्।