नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रतासम्बन्धी स्पष्ट कानुन बनाउन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै पुनले जाजरकोट, रोल्पा र बागलुङलगायतका जिल्लामा विपतपछि उद्धार तथा पुनर्स्थापना सुस्त भएको भन्दै सरकारको आलोचना गरे। उनले ग्यास, मल र पासपोर्टमा देखिएको अभाव तत्काल समाधान गर्न पनि सरकारसँग माग गरे।
पुनले सरकारको परराष्ट्र नीति दोहोरो देखिएको आरोप लगाउँदै असंलग्न नीतिमा स्पष्टता आवश्यक रहेको बताए। भारतसँग भएको विद्युत् निर्यात सम्झौता कार्यान्वयनका लागि कूटनीतिक पहल बढाउन तथा रोमानिया, सर्बिया र मोल्दोभामा नेपालीको सुविधाका लागि कूटनीतिक नियोग स्थापना गर्न पनि उनले आग्रह गरे।
सरकारले उठाइएका सबै विषयमा सदनलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने र काममार्फत परिणाम देखाउनुपर्नेमा पुनले जोड दिए।