- सन् २०१० मा चीनको ग्वाङझाउमा भएको एसियन खेलकुदपछि नेपाली मुक्केबाजले पदक जित्न सकेका छैनन् । युवा तथा अनुभवी खेलाडीको साथ रहेको टोलीले २०औँ संस्करणमा पदक जित्ने लक्ष्यका साथ तयारी गरेका छन् ।
सन् २०१० मा चीनको ग्वाङझाउमा भएको एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा दीपक महर्जनले नेपालका लागि बक्सिङ विधामा ऐतिहासिक कांस्यपदक जितेका थिए । ग्वाङझाउ एसियाड यता नेपाल बक्सिङमा पदकविहीन रहँदै रहेको छ । नेपाललाई यस विधामा अन्तिमपटक पदक दिलाएका दीपक अहिले टोलीका प्रशिक्षक हुन् । उनको प्रशिक्षणमै नेपाली बक्सिङ टोलीले, इन्चोन जकार्ता र हाङझाउ एसियाडमा पदकका लागि प्रयास नगरेका होइनन् ।
नेपाली मुक्केबाजी प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलभन्दामाथि बढ्न सकेनन् । यसपटक बक्सिङका खेलाडीले आगामी ३ असोजदेखि जापानको आइसी र नागोयामा हुने २०औँ एसियाडमा पदकका साथ फर्कने प्रण लिएका गरेका छन् । राष्ट्रिय टिम तयारीमा महिनौँ प्रशिक्षण गरेका बक्सिङ टोली अहिले भारतको गुवाहाटीमा वैदेशिक अभ्यासमा व्यस्त छ । प्रशिक्षक महर्जन पनि गुवाहटीको विशेष प्रशिक्षणले एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी हुने बताउँछन् ।
‘गुवाहाटीको प्रशिक्षणले खेलाडीहरूको आत्मविश्वास बढ्ने विश्वास छ,’ भारत जानुअघि प्रशिक्षक महर्जनले भने, ‘यसपटक हामीले पदकको आशा गरेका छौँ ।’ एसियाडका लागि नेपालबाट बक्सिङमा पुरुषतर्फ ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोकामगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, महिलातर्फ ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङले नेपालको प्रतिनिधित्व गर्नेछन् । समग्रमा जापानबाट पदक भिœयाउने लक्ष्यमा चार पुरुष र तीन महिला खेलाडी रहेका छन् ।
गुवाहाटीमा ४० दिन विशेष प्रशिक्षण
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को विशेष पलहमा नेपाली मुक्केबाजले गुवाहाटीमा रहेको स्पोर्टस् अथोरिटी अफ इन्डिया (साई)अन्तर्गतको नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन प्रशिक्षण तथा तयारी गर्नेछन् । एसियाडका लागि खेलाडीलाई उच्चस्तरीय प्रशिक्षण र प्रतियोगितात्मक तयारी उपलब्ध गराउने उद्देश्यले भारतमा प्रशिक्षणको व्यवस्था गरिएको हो । गुवाहाटीको प्रशिक्षणपछि खेलाडीहरू सिधै एसियाडमा प्रतिस्पर्धा गर्न जापान जानेछन् ।
एक महिनाभन्दा बढी समय वैदेशिक प्रशिक्षणपछि खेलाडीहरू एसियाडमा विपक्षीहरूलाई चुनौती दिन सक्ने प्रशिक्षक महर्जनले बताए । ‘लामो समयसम्म विदेशी प्रशिक्षणमा रहँदा खेलाडीले एसियाडको प्रतिस्पर्धात्मक वातावरण बनाउनेछन्,’ उनले भने, ‘भारतमा रहँदा खेलाडीहरूले त्यहाँ खेलाडीसँग पनि स्पाइरिङ गर्न अवसर पाउनेछन् । यसले उनीहरूले आफूलाई थप तयार गर्ने अपेक्षा छ ।’ सन् १९८६ देखि २०२६ सम्मको यात्रामा नेपाली बक्सिङको यो ११औँ सहभागिता हो । टोलीका प्रमुख प्रशिक्षक राज श्रेष्ठले पनि खेलाडीहरूको आत्मविश्वास उच्च भएको बताउँछन् । ‘योपटक हामी पदक जित्ने लक्ष्यका साथ प्रशिक्षणमा छौँ । हामी जापानमा हाम्रो प्रयास सफल बनाउने योजनामा छौँ,’ श्रेष्ठले भने ।
चन्द्रबहादुरमाथि विश्वास
एसियाडमा प्रतिस्पर्धा गर्ने धेरैजसो खेलाडी नयाँ अनुहारका छन् । यस अर्थमा उनीहरूको २०औँ एसियाड पहिलोपटक सहभागिता हुनेछ । टोलीमा आबद्धमध्ये चन्द्रबहादुर थापा सबैभन्दा सिनियर खेलाडीमा पर्छन् । नेपाली टोलीले उनीबाटै पदकको आशा गरिएको छ । नेपाल पुलिस क्लबमा आबद्ध थापाले सन् २०२५ मा युएईमा भएको आइबिए विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । उनले त्यसवेला ७५ हजार अमेरिकी डलर हात पारेका थिए । थापाको त्यो कांस्य पदक नेपाली बक्सिङले अहिलेसम्म अन्तर्राष्ट्रिय एरिनामा प्राप्त ठुलो उपलब्धिका रूपमा मानिन्छ । उत्कृष्ट फर्ममा रहेका थापाबाट प्रशिक्षकद्वयले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन् । यसपटक नयाँ पुस्ताका खेलाडीलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा अनुभव दिलाउने र पदकको सम्भावना बलियो बनाउने लक्ष्य रहेको छ ।
बक्सिङमा अहिलेसम्म ६ कांस्य
एसियाली खेलकुदमा नेपाली बक्सिङको इतिहास पुरानो छ । अहिलेसम्म नेपालले एसियाडमा ६ कांस्य पदक हात पारेको छ । नेपालले बक्सिङमा पहिलोपटक सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको १०औँ एसियाडमा पदक भिœयाएको थियो । त्यसवेला दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कांस्य पदक जित्दै नेपाली बक्सिङलाई एसियाडमा ऐतिहासिक सफलता दिलाएका थिए । १०औँ एसियाडमा सहभागी नेपाली बक्सिङ टोली इतिहासकै सबैभन्दा उत्कृष्ट मानिन्छ । त्यस समयमा बक्सिङको स्वर्ण समय भनिन्थ्यो । सन् १९९० मा चीनको बेइजिङमा भएको ११औँ संस्करणमा चित्रबहादुर गुरुङले कांस्य हात पारे । एसियाडमा अन्तिमपटक कांस्य जितेको नै दीपक महर्जन हुन् ।
नेपालविरुद्ध खेल्ने अफगानिस्तानको टोली घोषणा
२०औँ एसियाडअन्तर्गत पुरुष क्रिकेटमा नेपालविरुद्ध खेल्ने अफगानिस्तानले आफ्नो टोलीको घोषणा गरेको छ । अफगानिस्तान क्रिकेट बोर्डले सोमबार युवा खेलाडीलाई अवसर दिँदै १५ सदस्यीय टिम घोषणा गरेको जनाएको छ । जसमध्ये ६ खेलाडीका पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछन् । यसैगरी, पाँचजना खेलाडीसँग १० भन्दा कम अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । रसुलीलाई कप्तानीको जिम्मेवारी दिइएको छ । समूह ‘ए’मा अफगानिस्तानले नेपालसँगै जापानसँग खेल्नेछ । समूहका शीर्ष दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् । नकआउट चरणमा टेस्ट राष्ट्रहरू भारतसँगै, बंगलादेश, पाकिस्तान र श्रीलंकाले सिधै स्थान बनाएका छन् । आयोजक जापानले बेसबल खेल मैदानमा क्रिकेट खेल गराउने जनाएको छ । सबै खेलाडीका लागि नयाँ पिच हुनेछन् ।
करिम र नजिबुल्लाह मात्रै अनुभवी
बोर्डले टोली घोषणा गर्दा करिम जनत र नजिबुल्लाह जादरान मात्रै अनुभवी खेलाडी रहेका छन् । करिमले अफगानिस्तानबाट दुई टेस्ट, तीन एकदिवसीय र ७५ टी–२० खेल खेलेका छन् । यस्तै, अधिकांश खेलाडी घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हुन् । मोहमद अक्रमले सपगिजा क्रिकेट लिग (एससिएल)मा सबैभन्दा धेरै रन बनाएका थिए । खालिद तनिवालले दुई टेस्ट खेलेका छन् । अलराउन्डर इस्मत आलमले पनि स्थान बनाए । उनी पछिल्लो सिजन घरेलु लिगमा २९४ रन र ९ विकेट हात पारेका थिए । यू–१९ विश्वकपमा भारतविरुद्ध सेमिफाइनलमा शतक बनाएका फैसल सिनोजादा टोलीमा छन् । यसैगरी, श्रीलंकामा भारत ‘ए’विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका फरमानुल्लाहले स्थान पक्का गरे ।