न्युजिल्यान्डका कुगेलिजिन सुदूरपश्चिममै रहने

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

दुईपटकको साबिक उपविजेता सुदूरपश्चिम रोयल्सुले तेस्रो सिजनका लागि न्युजिल्यान्डका फास्टबलर स्कट कुगेलिजिनलाई आबद्ध गरेको छ । सुदूरपश्चिमलाई लगातार दोस्रोपटक उपविजेता बनाउने क्रममा उनले उत्कृष्ट बलिङ गरेका थिए । दुई सिजनमा गरी उनले २७ विकेट हात पारेका छन् । उनले पहिलो सिजनमा सुदूरपश्चिमबाट नौ खेलमा सर्वाधिक १७ विकेट लिए । त्यसवेला उनी सर्वाधिक विकेट लिने सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए ।

गत सिजनमा कुलेलिजिनले नौ खेलमा १० विकेट लिएका थिए । सुदूरपश्चिमबाट लगातार तेस्रोपटक एनपिएल खेल्न पाउँदा खुसी लागेको उनले बताएका छन् । ‘फेरि म सुदूरपश्चिममा आबद्ध भएको छु । यसबाट म उत्साहित बनेको छु,’ सोसल मिडियामा उनले भनेका छन् । यसपटक उनी टोलीलाई च्याम्पियन बनाउन चाहन्छन् । उनी भन्छन्, ‘पछिल्ला संस्करणमा हामीले उपाधि उचाल्न सकेनौँ । यसपटक हाम्रो प्रयास सुदूरपश्चिमलाई च्याम्पियन बनाउने हो ।’

सुदूरपश्चिमले कुलेलेजिनलाई दोस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो । यसअघि सुदूरपश्चिमले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ । तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ सेख, ईशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा रिटेन गरेको छ । अक्सनबाट उसले दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको छ ।

६ वर्ष अन्तर्राष्ट्रिय खेलमा सक्रिय
न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट कुगेलिजिनले ६ वर्ष सक्रिय रूपमा खेलेका थिए । उनले सन् २०१७ मा आयरल्यान्डविरुद्ध पहिलो एकदिवसीय खेलमा डेब्यु गरेका थिए । सन् २०२३ मा उनले पहिलोपटक टेस्ट खेलमा अवसर पाए । एक वर्ष टेस्ट करिअर बिताएका उनले पहिलो टेस्ट इंग्ल्यान्ड र अन्तिम अस्ट्रेलियाविरुद्ध रह्यो । यसैगरी, सन् २०१९ मा उनले श्रीलंकाविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । उनको अन्तिम टी–२०आर्ई खेल सन् २०२१ मा बंगलादेशविरुद्ध रह्यो ।

उनले तीन टेस्टमा ६ तथा दुई एकदिवसीय खेलमा पाँच विकेट लिए । कुगेलिजिनले १८ टी–२० आईमा १६ विकेट हात पारेका थिए । ब्याटिङ क्रममा उनले टेस्टमा तीन खेलमा ९२ रन बटुले । टी–२० आईमा उनले ७९ रन बनाए । उनले पहिलो श्रेणीमा ११४ खेलमा तीन हजार नौ सय ६९ रन बनाएका छन् । बलिङ क्रममा पहिलो श्रेणीस्मा उनले ३७५ विकेट तथा टी–२० मा १७५ खलमा एक सय ८६ विकेट लिएका छन् । यसैगरी, लिस्ट एमा उनको नाममा १७५ विकेट छ ।

विराटनगरलाई एक्सट्रिमको साथ
नेपाल प्रिमियर लिग (एनपिएल)को टोली विराटनगर किंग्सले एक्सट्रिम इनर्जी ड्रिंकलाई मुख्य प्रायोजकका रूपमा भिœयाएको छ । विराटनगरले एक्सट्रिमको लोगो टोलीको जर्सीलगायत विभिन्न प्रमुख स्थानमा देखिनेछ ।

विराटनगर किंग्सले एक्सट्रिमसँगको सहकार्यले टोलीको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । एक्सट्रिमले एनपिएलका आठमध्ये सात टोलीलाई मुख्य प्रायोजन गरेको छ ।

एक्सट्रिमले यसअघि साबिक विजेता लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्सलाई एकै कार्यक्रममार्फत मुख्य प्रायोजनको घोषणा गरेको थियो । विराटनगरले तेस्रो सिजन पनि राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा खेल्दै छ । 

सुझावित समाचार