गत मंगलबार प्रेमिका रोड्रिगेजसँग विवाह गरेका रोनाल्डोले २०२७ पछि फुटबलबाट विश्राम लिने
पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले यो सिजनको अन्तिमसम्म फुटबल करिअरबाट सन्न्यास लिने बताएका छन् । ४१ वर्षीय रोनाल्डोले भोग म्यागजिनसँगको अन्तर्वार्ताको क्रममा नयाँ वर्षमा परिवारसँगै दिन बिताउने जनाएका हुन् । गत मंगलबार आफ्नी प्रेमिका जोर्जिना रोड्रिगेजसँग विवाह गरेका रोनाल्डोले आफ्नो भविष्य परिवारमा केन्द्रित गर्ने योजना बनाएको भोगले जनाएको छ ।
‘सम्भवतः फुटबलमा मेरो अन्तिम वर्ष हो, यो विश्वमा एउटा सानदार विरासत छोडेर जान चाहन्छु,’ रोनाल्डोले भने, ‘गत मंगलबारदेखि मैले मेरो भविष्यको योजना बनाइसकेको छु । अब मैदानमा नभएर परिवारका साथ व्यस्त हुन चाहन्छु ।’
रोनाल्डो र उनकी पार्टनर जर्जिनाबिचको सम्बन्ध १० वर्ष पुगिसकेको छ । उनीहरूको विवाह भव्य समारोहमा नभई घरकै बैठक कोठामा पारिवारिक वातावरणमा भएको थियो । पाँचपटकका बालोन डी अर र पाँचैपटकका युरोपियन च्याम्पियन्स लिग विजेता रोनाल्डो अहिले साउदी अरेबियाको प्रो लिगमा आबद्ध छन् । तीन वर्षदेखि अल नासरमा आबद्ध रहेका रोनाल्डो वर्तमान समयकै महँगा खेलाडीमा पर्छन् । साउदी अरेबियाले उनलाई सन् २०३६ को विश्वकपसम्म राख्न चाहन्छ । रोनाल्डोको मध्यमबाट विश्वकपको प्रचार–प्रसार कार्य सहज हुने साउदीको छ ।
यसैकारण उसले रोनाल्डोलाई सद्भाव दूत बनाइएको छ । रोनाल्डोले आफ्नो दुई दशक फुटबल यात्रामा इंग्ल्याण्ड, स्पेन, इटाली र साउदी अरबमा लिग खेले । उनी जहाँ–जहाँ आबद्ध भए क्लबले उपाधि हात पारेका छन् । करिअरमा सबैभन्दा बढी लामो समय उनी स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भए । जहाँ उनले स्पेनिस ला लिगा र च्याम्पियन्स लिग हात पारेका थिए । उनी अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।
अल नासरसँग एक वर्ष सम्झौता बाँकी
रोनाल्डो र अल नासरबिचको सम्झौता एक वर्ष बाँकी छ । सम्झौताअनुसार उनी एक वर्ष अल नासरमा रहनेछन् । भोग म्यागेजिनका अनुसार रोनाल्डो आफ्नो सम्झौता नवीकरण गर्न चाहँदैनन् । यो अवधिमा उनी अन्तर्राष्ट्रिय फुटबलमा एक हजार गोल गर्ने योजनामा छन् । उनी अब मात्र २४ गोल टाढा छन् । अहिलेसम्म आधिकारिक रूपमा फ्टुबल इतिहासमा एक हजार गोल कसैले गरेका छैनन् । यद्यपि, ब्राजिलका पेले र रोमारियोले आ–आफ्नो समयमा एक हजारभन्दा बढी गोल गरेको दाबी गरेका थिए ।
तर, पेले र रोमारियाले खेलेका कतिपय खेल आधिकारिक रूपमा रहेनन् । फुटबलमा तथ्यांक संकलन गर्न थालेपछि रोनाल्डो नै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । गत महिना अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरेका २३औँ विश्वकप फुटबल प्रतियोगिताको राउन्डअफ ३२ बाट पोर्चुगल बाहिरिएपछि रोनाल्डोले हतारमा कुनै निर्णय नगर्ने बताएका थिए । त्यसवेला अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरूले उनी समक्ष प्रश्न राखेका थिए, ‘विश्वकपपछि सन्न्यास हो ।’ त्यो वेलामा उनले परिवारसँग बसेर निर्णय हुने बताए ।
गत शनिबार अल नासरले अल फत्तेहविरुद्धको खेलसँगै नयाँ सिजनको सुरुवात गर्दा रोनाल्डो मैदानमा भने उत्रिएनन् । उनले दर्शकदीर्घामा परिवारसँगै बसेर आफ्नो टोलीको जितको खुसी मनाए ।
१४६ अन्तर्राष्ट्रिय गोल
सन् २००३ मा रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । उनी टोलीमा आबद्ध हुँदा कप्तान लुइस फिगो थिए । डेब्यु गरेको अर्को वर्ष नै उनले युरोकप फाइनल खेले । तर, ग्रिससँग घरेलु मैदानमा पोर्चुगल १–० ले पराजित भयो । लगातार २३ वर्ष राष्ट्रिय टोलीमा आबद्ध भएका रोनाल्डोले यसक्रममा पोर्चुगललाई दुईपटक नेसन्स कप तथा एकपटक युरोकप दिलाउन सफल भए । विश्वकप फुटबलमा लगातार ६ संस्करणमा गोल गर्ने उनी एक मात्र खेलाडी हुन् ।
उनले २३३ पटक राष्ट्रिय टोलीबाट खेल्दा कीर्तिमानी रूपमा १४६ गोल गरेका छन् । क्लबस्तरीय प्रतिस्पर्धामा उनले २००९ देखि २०१८ सम्म रियल म्याड्रिडमा बिताउँदा ३११ खेलमा २९२ गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडमा पहिलो सिजन बिताउँदा उनले १९६ खेलमा ८४ गोल गरेका थिए । दोस्रोपटक युनाइटेडमा आबद्ध हुँदा उनले ४० खेलमा १९ गोल गर्न सफल भए । यसैगरी, युभेन्ट्समा ९८ खेलमा उनले ८१ गोल गरेका थिए ।