प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन बनाइनुपर्ने बताएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा संहिता दिवस, २०८३ का अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नागरिकका बदलिँदा अपेक्षाअनुसार कानुनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
कानुन निर्माणसँगै त्यसको कार्यान्वयनको अवस्था अध्ययन, समीक्षा तथा आवश्यक सुधारका लागि सरकारलाई मार्गदर्शन गर्ने र संसदीय निगरानी गर्ने जिम्मेवारी पनि संघीय संसद्को रहेको सभामुख अर्यालले बताए।
उनले संघीय संसद् कानुन निर्माण गर्ने थलो मात्र नभई कानुनको प्रभावकारिता र कार्यान्वयनको समीक्षा गर्ने तथा नागरिकका आवश्यकता र आकांक्षाअनुरूप कानुनमा आवश्यक सुधार गर्ने प्रमुख संस्था भएको उल्लेख गरे।
सभामुख अर्यालले कानुनको गुणस्तरसँगै यसको प्रभावकारी कार्यान्वयन, न्यायिक तथा प्रशासनिक संस्थाहरूको सुदृढीकरण र नागरिकमा कानुनी सचेतना अभिवृद्धि आवश्यक रहेको बताए। त्यसका लागि कानुनको भाषा नागरिकले सहज रूपमा बुझ्न तथा व्यवहारमा प्रयोग गर्न सक्ने हुनुपर्ने प्रस्ट पारे।