बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले स्वीकृत गरेका छन्। राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेस गर्न आह्वानसमेत गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम मुख्यमन्त्री बानियाँले भदौ १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरिएको जनाएको छ।

राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

मुख्यमन्त्री बानियाँले सोमबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहे पनि आवश्यक बहुमत जुट्ने सम्भावना नरहेपछि मत विभाजनमा नगई पदबाट राजीनामा दिने घोषणा गरेका थिए। त्यसलगत्तै उनले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका थिए।

बानियाँ नेतृत्वको सरकार गत ०८२ साउन २० गते संविधानको धारा १६८ (२) बमोजिम गठन भएको थियो। कांग्रेस र एमालेको साझेदारीमा बनेको उक्त सरकारले करिब १३ महिना प्रदेश सरकारको नेतृत्व गर्याे। तर, एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।

संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता रहे पनि प्रदेश सभामा आवश्यक ५३ सांसदको समर्थन जुटाउन नसक्ने अवस्था देखिएपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिने निर्णय गरेका हुन्।

अब प्रदेश प्रमुखको आह्वानसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। तोकिएको समयभित्र बहुमतसहित दाबी पेस भए प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्। यदि बहुमतको दाबी पेस हुन नसके संविधानले व्यवस्था गरेको अर्को प्रक्रियाअनुसार सरकार गठनको पहल अघि बढ्नेछ।

सुझावित समाचार